सकियो ‘पेन्सन पट्टा’को छायांकन

काठमाडौं
माघ ८ ।

चलचित्र ‘पेन्सन पट्टा’को छायांकन सम्पन्न भएको छ । माओत्से गुरुङको निर्देशनमा निर्माण भएको यस चलचित्रको सम्पूर्ण छायांकन पूरा भएको हो । मंगलवार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनमा यो चलचित्रको इण्ड-क्ल्याप गरिएको हो । यी दिनमा गाह्रो-अफ्ठरो नभनी रात–दिन छायांकनमा खट्ने सम्पूर्ण सहयोगी प्राविधिकलाई आभार प्रकट गर्दै निर्देशक गुरुङले छायांकन सकिएको जानकारी दिनुभयो ।

‘अबको केही दिनमा पोष्ट प्रोडक्सनको काम प्रारम्भ हुनेछ । त्यसमा कति समय लाग्छ । सोही अनुसार हामी यो फिल्मको रिलिज मिति घोषणा गनेछौं,’ निर्देशक गुरुङले भन्नुभयो, ‘हामी दर्शकलाई एक सुन्दर फिल्म देखाउन चाहन्छौं । सोही अनुरुप कुनै पनि कम्प्रमाइज नगरी काम गर्दा कति समय लाग्छ हेरौँ ।’

माओत्से गुरुङको पनि लगानी रहेको यो चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको शीर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताउनुहुन्छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेख्नुभएको हो ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (बेलायत) तथा सपना गुरुङको लगानी रहेको यो चलचित्रका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुनुहुन्छ । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रको कास्टिङ डिरेक्टर सुरज तमु तथा संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पार्नुभएको हो ।

निर्देशक माओत्से गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र ‘दयारानी’ बक्स अफिसमा हिट भएको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहनुभएका उहाँ पछिल्लो समय लेखन तथा निर्देशनमा पनि सक्रिय हुनुहुन्छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार