काठमाडौं
माघ ८ ।
यही माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’ले आफ्नो प्रचार–प्रसारलाई सांगीतिक र आक्रामक बनाएको छ । देशका विभिन्न प्रमुख शहरमा सांगीतिक माहोल सिर्जना गर्दै हिँडिरहेको निर्माण टोलीले यही माघ १० गते शनिबार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सोही कार्यक्रममा चलचित्रको बहुप्रतीक्षित आधिकारिक ट्रेलर पनि सार्वजनिक गरिने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।
यसअघि माघ १ गते नेपालगञ्जबाट सुरु भएको चलचित्रको सांगीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र माघ ६ गते चितवनको नारायणी किनारमा भव्य रूपमा सम्पन्न भइसकेको छ । हजारौं दर्शकको उत्साहजनक सहभागिताले चलचित्रप्रति आमदर्शकको चासो उल्लेखनीय रूपमा बढाएको निर्माण टोलीको भनाइ छ ।
पोखरा र चितवनमा प्राप्त सफलतापछि संघीय राजधानी काठमाडौं प्रवेश गर्न लागेको ‘कुमारी’ टोलीले भृकुटीमण्डपको कार्यक्रमलाई अझ विशेष बनाउने योजना बनाएको हो । उक्त कन्सर्टमा चलचित्रका पाश्र्वगायक केहर सिंह लिम्बु र उहाँको ब्याण्ड ‘केहर एण्ड द लुङा’को मुख्य प्रस्तुति रहनेछ भने लोकप्रिय महिला गायन समूह ‘इस्त्रीज’ले पनि दर्शकलाई झुमाउनेछन् ।
चलचित्रका कार्यकारी निर्माता केदार भुसालले कार्यक्रम पूर्णतया निःशुल्क हुने जानकारी दिँदै सर्वसाधारण दर्शकलाई चलचित्रका कलाकार र संगीतसँग नजिक ल्याउने उद्देश्यले कुनै पनि प्रवेश शुल्क नराखिएको बताउनुभयो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, चलचित्र युनिटका सदस्यहरू तथा विभिन्न सेलिब्रेटी, पत्रकार र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने जनाइएको छ । निर्देशक राउतले मोफसलमा दर्शकबाट प्राप्त अभूतपूर्व माया र क्रेजले आफू निकै उत्साहित भएको बताउनुभयो ।
विनिश इन्टरटेन्मेन्टको व्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित ‘कुमारी’को सांगीतिक यात्रा काठमाडौंपछि माघ १७ गते झापाको दमकमा पुगेर समापन हुनेछ । चलचित्रमा समावेश ‘डोको बुन्ने’ गीतले युट्युबमा करिब पाँच करोड भ्युज नजिकको यात्रा तय गरिसकेको छ भने टिकटक र रिल्समा पनि व्यापक लोकप्रियता पाएको छ । यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतले चर्चा कमाइसकेकाले माघ १० गते सार्वजनिक हुने ट्रेलरप्रति दर्शकमाझ उत्सुकता बढेको छ ।






