काठमाडौं,
माघ ७ ।
अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित हुनुभएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा कलेज अफ मास कम्युनिकेशन र बिलक्षण क्रियशनको संयुक्त आयोजनामा सम्पन्न १४औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलअन्तर्गत नेपाल पानारोमामा शाह र पन्तले क्रमशः चलचित्र ‘परान’ र ‘कोशेढुंगा’बाट उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।
सोमबार साँझ चलचित्र विकास बोर्डमा सम्पन्न महोत्सवमा नेपाल पानारोमा अन्तर्गत २० विधा र इन्टरनेशनल पानारोमा अन्तर्गत ६ गरी कुल २६ विधामा अवार्ड प्रदान गरिएको थियो । नेपालसहित २० देशका चलचित्र सहभागी महोत्सवमा फिचर, सर्ट र डकुमेन्ट्री गरी २० स्वदेशी तथा २३ विदेशी चलचित्र प्रदर्शन गरिएको थियो ।
नेपाल पानारोमा अन्तर्गत चलचित्र ‘अञ्जिला’ले उत्कृष्ट चलचित्रसहित चार विधामा अवार्ड जितेको छ । सो चलचित्रबाट मिलन चाम्स उत्कृष्ट निर्देशक, मञ्जु श्रेष्ठ उत्कृष्ट सह–अभिनेत्री तथा थानेश्वर गौतमले ‘रात किन हुन्छ’ गीतमार्फत उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गर्नुभयो ।
यस्तै, चलचित्र ‘कोशेढुंगा’ लाई स्पेशल मेन्सन अवार्ड (चलचित्र) प्रदान गरिएको थियो । यसै चलचित्रबाट आर्यन सिग्देलले सह–अभिनेता र मञ्जिल कुमारले नव अभिनेता अवार्ड प्राप्त गर्नुभयो । चलचित्र ‘परान’ ले जुरी अवार्ड (चलचित्र) प्राप्त गर्दा निर्देशक दीपकप्रसाद आचार्य (काकु)ले नव निर्देशकको अवार्ड जित्नुभयो । महोत्सवमा ‘कोशेढुंगा’ ले चार र ‘परान’ ले तीन विधामा अवार्ड हात पारे ।
महोत्सवमा ‘यो मन त मेरो नेपाली हो’ बाट रोशन श्रेष्ठलाई स्पेशल मेन्सन अवार्ड (अभिनेता) प्रदान गरिएको थियो भने चलचित्र ‘माग्ने राजा’ को गीत ‘त्यो मीठो जोवन’बाट सविन सुबेदीले उत्कृष्ट गायनको अवार्ड प्राप्त गर्नुभयो ।
आदिवासी चलचित्रअन्तर्गत ‘नाम ओती’ले उत्कृष्ट चलचित्रसहित तीन विधामा अवार्ड जित्यो । सो चलचित्रबाट दिलिप फुरुम्बो उत्कृष्ट निर्देशक घोषित हुनुभयो भने पूर्णबहादुर लिम्बुले स्पेशल मेन्सन अवार्ड (नायक) प्राप्त गर्नुभयो । आदिवासी चलचित्रअन्तर्गत उत्कृष्ट नायकको अवार्ड चलचित्र ‘सेमेक्वां’बाट रुद्र पाहिमले प्राप्त गर्नुभयो ।
छोटो चलचित्रतर्फ उत्कृष्ट चलचित्रको अवार्ड ‘भुवा’बाट सौगात बिष्टले पाउनुभयो भने उत्कृष्ट अभिनेताको अवार्ड सोही चलचित्रबाट गजित विष्टले जित्नुभयो । उत्कृष्ट विद्यार्थी चलचित्रको अवार्ड ‘अन्तर्वार्ता’बाट प्रशन्न मालीले प्राप्त गर्नुभयो भने डकुमेन्ट्री चलचित्रको अवार्ड ‘अरिंगाल म्यान’ बाट भीमलाल श्रेष्ठले जिते ।
समारोहमा ‘द डटर’का लागि बाल कलाकार अप्रिसा भुसाल र ‘डान्सिङ इन फायर’का लागि रमेश खड्कालाई अनरेबल मेन्सन प्रदान गरिएको थियो । नेपाली, आदिवासी, वृत्तचित्र तथा लघु चलचित्रतर्फ निर्णायकमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, सेन्सर बोर्डकी सदस्य भीमा मैनाली, ओस्कार इन्टरनेशनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल तथा निर्देशक रामराजा दाहाल, अभिनेत्री–निर्माता–निर्देशक रोशनी केसी र गायिका सरिता भारती रहनुभएको थियो ।
इन्टरनेशनल पानारोमा अन्तर्गत वेष्ट अफ्रिकन फिल्मको अवार्ड इजिप्टको ‘द मंकी’, वेष्ट इन्टरनेशनल फिचर फिल्मको अवार्ड बंगलादेशको ‘मेमोरिज अफ ग्लोमी मनसुन’, वेष्ट इन्टरनेशनल सर्ट फिल्म भारतको ‘ब्ल्यू’, वेष्ट इन्टरनेशनल डकुमेन्ट्री फिल्मको अवार्ड युक्रेनको ‘नट स्ड्युलेड अर फाइटिङ टु लर्न’लाई प्रदान गरिएको थियो । वेष्ट इन्टरनेशनल फिमेल फिल्मको अवार्ड बंगलादेशको ‘लेटर अफ द फलेन लिभ्स’ले प्राप्त गर्दा स्पेशल मेन्सन अवार्ड (सर्ट फिल्म) बंगलादेशकै ‘नो डाइस’लाई प्रदान गरिएको थियो ।
अन्तर्राष्ट्रिय निर्णायकमा बंगलादेशका चलचित्रकर्मी सुपिन बर्मन, दक्षिण अफ्रिकाका निर्देशक तथा निर्माता क्याथेरिन सोफियानेश र नेपालका निर्देशक तथा छायाँकार राजु केसी रहनुभएको थियो । गत शुक्रबारदेखि सुरु भएको चारदिने महोत्सवमा चलचित्र विकास बोर्ड सह–आयोजकका रूपमा रहेको थियो । यसपटक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पनि सहकार्य गरेका थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सिनेमा, नेचर एण्ड कल्चर’ भावसहित फोटो प्रदर्शनी आयोजना गरिएको थियो । नेपाली चलचित्र ‘आमा’ को पोष्टरसहित १६ तस्वीर प्रदर्शनी गरिएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर चलचित्र विकास बोर्डको हलमा चलचित्र प्रदर्शन गरिएको थियो भने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा चारदिने नृत्य प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त प्रशिक्षणमा ३१ जना प्रशिक्षार्थीलाई राजु शाह, सुवास बुढाथोकी, गजित विष्ट, गम्भीर विष्ट, कृष्ण रसाल र कविराज गहतराले प्रशिक्षण दिनुभएको थियो । सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र उद्योगका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो ।






