हिन्दी फिल्ममा ‘डेब्यु’ गर्दै वर्षा राउत

काठमाडौं,
पुस २९ ।

अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा अभिनय यात्राको सुरुवात गर्ने हुनुभएको छ । उहाँले हिन्दी फिचर चलचित्र ‘रिमझिम गिरे सावन’ मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग औपचारिक सम्झौता गर्नुभएको हो । हालै काठमाडौंमा सम्पन्न सम्झौतासँगै वर्षाको बलिउड डेब्यु निश्चित भएको हो ।

सन् २०१६ मा व्यावसायिक रूपमा सफल चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गर्नुभएकी वर्षाले त्यसपछि ‘छक्का पञ्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ जस्ता ब्लकबष्टर चलचित्रमार्फत नेपाली रजतपटमा आफूलाई स्थापित गरिसक्नुभएको छ । नेपाली चलचित्रमा बलियो पकड बनाउनुभएकी वर्षाका लागि यो विदेशी भाषाको चलचित्रमा पहिलो मुख्य भूमिका हो ।

चलचित्र ‘रिमझिम गिरे सावन’ उत्तरी सिक्किमको लाचुङ क्षेत्रको रमणीय तर दुर्गम पहाडी भूगोलमा आधारित सामाजिक ड्रामा हो । नेपाली समुदायको परिवेश समेटिएको यस चलचित्रले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा रिमझिम क्षेत्रीको संघर्षपूर्ण जीवनकथालाई प्रस्तुत गर्नेछ । सो पात्रको भूमिकामा वर्षा राउत देखिनुहुनेछ । चलचित्रले प्रणालीगत भ्रष्टाचार, न्याय र मानवीय मर्यादाका लागि एक महिलाले गर्ने साहसी तथा भावनात्मक संघर्षलाई केन्द्रमा राखेको निर्देशक अर्नब पलले जानकारी दिनुभयो ।

यस चलचित्रको निर्देशन बंगाली चलचित्र उद्योगका बहुआयामिक निर्देशक अर्नब पलले गर्दै हुनुहुन्छ । उहाँले यसअघि ‘तान्त्रिक’ जस्तो क्राइम थ्रिलर र ‘मेघमल्लार’ जस्ता भावनात्मक कथा बोकेको चलचित्र निर्देशन गरिसक्नुभएको छ । पलले ‘वृष्टि तोमाके दिलाम’बाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्नुका साथै सान्टियागो इन्टरनेशनल ग्लोबल फिल्म अवाड्र्सलगायत अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत उत्कृष्ट निर्देशकको सम्मान पाइसक्नुभएको छ ।

चलचित्रमा बलिउडका स्थापित कलाकारहरू सुब्रत दत्त, राजेश शर्मा, आशिष विद्यार्थी र यशपाल शर्माको मुख्य भूमिका रहने निर्माणपक्षले जनाएको छ । रिमझिमकी दिदी ‘रुन्झुन’को भूमिकामा कोलकाताकी अभिनेत्री सुस्मिता बसुमता देखिनुहुन्छ । ‘सावन’ पात्रका लागि भने एक चर्चित बलिउड अभिनेताको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ ।

‘मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु । हिउँले ढाकिएको कठिन भूगोलमा छायांकन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरो लागि सिक्ने र बढ्ने अवसर हो । बलिउडका अनुभवी कलाकार र टिमसँग काम गर्न पाउनु गर्वको विषय हो’, आफ्नो नयाँ यात्राप्रति उत्साह व्यक्त गर्दै राउतले भन्नुभयो ।

निर्देशक अर्नब पलका अनुसार वर्षाको छनोट उहाँको उत्कृष्ट अभिनय क्षमताका कारण गरिएको हो । हिन्दी संवाद भए पनि नेपाली लवज आवश्यक पर्ने भएकाले नेपाली कलाकारलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । पलले वर्षालाई मनिषा कोइरालापछिको हिन्दी सिनेमामा सशक्त नेतृत्वदायी भूमिका निभाउने नेपाली अभिनेत्रीका रूपमा चित्रण गर्नुभयो ।

चलचित्रको पटकथा भेट्रान लेखक राकेशकुमार त्रिपाठीले तयार पार्नुभएको हो । सन् २००२ देखि लेखन तथा गीतकारका रूपमा सक्रिय त्रिपाठीका ७०० भन्दा बढी गीत र १५ वटा जति टेलिभिजन शृंखला सार्वजनिक भइसकेका छन् । उहाँको अर्को चलचित्र ‘तुम रहे ना तुम’ सन् २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ । प्राविधिक पक्षमा भारतीय राष्ट्रिय पुरस्कार विजेता असिम बोस (डिओपी), अघ्र्य कमल मित्र (सम्पादन) र अतनु साहा (कला निर्देशन) संलग्न हुनुहुन्छ । १२ वर्षभन्दा बढी अनुभव बटुल्नुभएकी नाङ एनी गोगोईले लाइन प्रोड्युसर तथा कस्ट्युम डिजाइनरको जिम्मेवारी सम्हाल्नुभएको छ । नेपालतर्फबाट रामगोपाल तिमल्सिना र नृपेश रूपाखेती प्रोडक्सन म्यानेजरका रूपमा आबद्ध हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार