काठमाडौं,
पुस २८ ।
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उहाँको दिल्लीस्थित आफ्नै निवासमा आइतबार निधन भएको हो । उहाँको आइतबार बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो । भारतीय टिभी रियालिटी शो इण्डियन आइडलको तेस्रो संस्करणका विजेता तामाङले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । ४३ वर्षीय तामाङले नेपाली चलचित्रमा अभिनय र गायन पनि गर्नुभएको छ । नारायण रायमाझी निर्देशित चलचित्र ‘गोर्खापल्टन २’ बाट उहाँले नेपाली चलचित्रको अभिनयमा डेब्युगर्नुभएको थियो । ‘हिम्मत २’बाट पहिलोपटक नेपाली चलचित्रको पाश्र्वगायनमा काम गर्नुभएको थियोे ।
उहाँले ‘अंगालो मायाको, किन मायामा, धड्कनभित्र, निशानी, परदेशी को भाग १ र २’ मा अभिनय गर्नुभएको छ । ‘दिल, अनमोल छन् र हिम्मत २’ मा उहाँको पाश्र्वगायन छ । प्रशान्तले सलमान खान स्टारर चलचित्र ‘ब्याटल अफ गलवान’बाट बलिउड डेब्यु गर्नुभएको थियो । यो चलचित्रको छायांकन सकिएको छ र उहाँ डबिङको तयारीमा हुनुहुन्थ्यो ।
भारतको दार्जिलिङमा जन्मिनुभएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गर्नुभएको थियो । उहाँहरूको एक छोरी छन् । उहाँले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिरसमेत गर्नुभएको थियो । सन् २००७ मा प्रशान्तको डेब्युएल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ जस्ता उहाँका चर्चित गीत छन् । तामाङको निधनले नेपाली संगीत र कला क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ ।






