पर्वत,
पुस १८ ।
पर्वत जिल्लाको फलेवासस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा यही पौष १३ र १४ गते क्षारसुत्र व्यवस्थापन कार्यक्रम अन्तर्गत मलद्वार सम्बन्धी रोगहरूको विशेषज्ञ चिकित्सकमार्फत स्क्रिनिङ तथा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त शिविरको उद्घाटनसत्र प्रदेश आयुर्वेद चिकित्सालय, फलेवासका प्रमुख डा. किरण कमल बस्ताकोटीको अध्यक्षतामा तथा फलेवास नगरपालिका प्रमुख गङ्गाधर तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रको कार्यक्रम चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक नवीनकिरण भुसालले सञ्चालन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा गण्डकी आयुर्वेद अस्पताल, कास्कीका प्रमुख डा. शंकर गौतम, धौलागिरि आयुर्वेद अस्पताल, बागलुङका प्रमुख डा. शरद पन्थी, धौलागिरि आयुर्वेद अस्पतालका डा. कमल विक्रम पौडेल, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।
शिविरमा पाइल्स, फिसर, फिस्टुलालगायत मलद्वारसम्बन्धी विभिन्न समस्याबाट पीडितकुल १२३ जना बिरामीहरूको परीक्षण तथा परामर्श सेवाप्रदान गरिएको थियो । परीक्षण गरिएका बिरामीहरूमध्ये उपचार आवश्यक ठहरिएका केही बिरामीहरूलाई क्षारसुत्र विधिबाट उपचारका लागि छनोट गरिएको थियो ।
शिविरमा गण्डकी आयुर्वेद अस्पताल, कास्कीकी कन्सल्टेन्ट सर्जन डा. दिक्षा पौडेलसहितको चिकित्सक टोली तथा स्वास्थ्यकर्मीहरूद्वारा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदानगरिएको थियो ।
हाल उपलब्ध सीमित स्रोत-साधन, आवश्यक उपकरण, पूर्वाधार तथा जनशक्तिको अभावका कारण जम्मा चार जना बिरामीहरूको मात्र क्षारसुत्र उपचारसफलतापूर्वक सम्पन्न गरिएको प्रदेश आयुर्वेद चिकित्सालयपर्वतले जनाएको छ । क्षारसुत्र उपचार आयुर्वेदपद्धतिमा आधारित प्रभावकारी तथा सुरक्षित शल्य उपचार विधि भएपनि सबै आवश्यक बिरामीलाई तत्काल सेवा दिन कठिनाइ भएको जनाइएको छ ।
कार्यक्रमकै क्रममा प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वतमा आयुर्वेद शल्य उपचार सेवा विस्तार गर्ने उद्देश्यले गण्डकी आयुर्वेद अस्पताल, कास्की र प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वतबीच क्षारसुत्र व्यवस्थापन सेवा सञ्चालनका लागि सम्झौता गरिएको थियो । फलेवास नगरपालिका प्रमुख गङ्गाधर तिवारीज्यूको रोहवरमा सम्पन्न उक्त सम्झौता चालु आर्थिक वर्ष २०८२/०८३ भर लागू हुने जनाइएको छ ।
सम्झौता अनुसार अब फलेवासमा विशेषज्ञ आयुर्वेद चिकित्सकमार्फत नियमित रूपमा मलद्वार रोगसम्बन्धी स्क्रिनिङ तथा क्षारसुत्र उपचार सेवा प्रदान गरिनेछ । यसबाट पर्वत जिल्लामा गुणस्तरीय आयुर्वेद शल्य उपचार सेवा विस्तार भई सेवाग्राहीहरूले सहज, सुरक्षित र निरन्तर सेवा पाउने अपेक्षा गरिएको छ ।
पर्वत जिल्लामा विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीहरू, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले कार्यक्रमको प्रशंसा गरेका छन् । आगामी दिनमा आवश्यक स्रोत, उपकरण तथा पूर्वाधार विस्तार गर्दै यस सेवालाई थप प्रभावकारी र निरन्तर बनाइने चिकित्सालयले जनाएको छ ।






