काठमाडौं,
पुस ७ ।
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘परान’ले देशभरका ३० बढी हलमा प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ । यही खुशीयालीमा चलचित्रको टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा त्यहाँ आश्रित ६५ जना अनाथ र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आगामी साता एक विशेष कार्यक्रम गरिनेछ ।
आश्रमकी सन्चालिका दिक्षा चापागाईंले केही साता अघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरूलाई चलचित्र देखाएको स्मरण गर्दै छोराछोरी र आमाबुबा प्रतिको प्रेमलाई चलचित्रले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि उहाँले ‘परान’ देखाएको खुलाइउनुभयो ।
चलचित्रका निर्देशक दिपकप्रसाद आचार्यले ५१औं दिनसम्म पनि चलचित्रलाई दर्शकले दिएको माया देख्दा खुशी लागेको बताउँदै यो मायाले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो ।
चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता आचार्यले चलचित्रले ५१औं दिन पूरा गर्दा १८ करोड रुपैंया ग्रस कलेक्सन गरेको जानकारी दिनुभयो । यो सँगै चलचित्रले नेपाली फिल्म्को व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्मसमेत बनेको छ ।






