काठमाडौं,
पुस १ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) पुस १ गते मतदान हुँदैछ ।तेस्रोपटक संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति ९ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ ।
जसअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्य पदाधिकारी तथा सदस्यमा उहाँहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेका छन् ।
यसैबीच मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमुना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताउनुभयो ।






