काठमाडौं,
मंसिर २९ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी २०८२ साल फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । संघको बृहत् एकता प्रयासपछि गठित स्टेरिङ कमिटीको आइतबार सम्पन्न दोस्रो बैठकले महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको हो ।
संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाद्वारा जारी संयुक्त विज्ञप्तिमा महाधिवेशनको तयारीलाई तीव्रता दिन मिति घोषणा गरिएको उल्लेख छ । बैठकले महाधिवेशनसँगै सांगठनिक एकता, आन्तरिक व्यवस्थापन र अनुशासनसम्बन्धी महत्वपूर्ण निर्णयहरू पनि गरेको जनाएको छ ।
राष्ट्रिय समन्वय समितिहरू (एनसीसी)बीच देखिएको विवाद टुंग्याउन स्टेरिङ कमिटीले गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी एकता समिति’ गठन गरेको छ । समितिको सह-संयोजकमा टीका गुरुङ (राधिका) रहनुभएको छ भने सदस्यहरूमा शनिकुमार ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का रहनुभएको छ ।
संघले बृहत् एकताको सन्देश विश्वभर फैलाउन क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रमको तालिका पनि सार्वजनिक गरेको छ ।
– डिसेम्बर १९ : मध्यपूर्व तथा अफ्रिका
– डिसेम्बर २० : एसिया–प्रशान्त तथा ओसिनिया
-डिसेम्बर २१: अमेरिकाज तथा युरोप
बैठकले सदस्यता सम्बन्धी समितिलाई पाँचबाट बढाएर सात सदस्यीय बनाउने निर्णय गरेको छ । साथै, अनुशासनलाई प्रभावकारी बनाउन स्टेरिङ कमिटीका सबै सदस्यहरूले आगामी बैठकअगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ । तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागी नगराइने निर्णयसमेत भएको छ ।
यता, महाधिवेशनको मिति घोषणा भए पनि विश्वभर रहेका धेरै एनआरएनए अभियन्ता तथा गैरआवासीय नेपालीहरूले अधिवेशन एनआरएनए डे अर्थात् अक्टोबरमै गर्नुपर्ने माग गरेका छन् । उनीहरूले आगामी महाधिवेशनले एनआरएनएको गिर्दो साख उकास्नुपर्ने भन्दै एनआरएनए डेमा बृहत् अधिवेशन आयोजना गरी विश्वभरका नेपालीलाई काठमाडौँमै उपस्थित गराएर प्रत्यक्ष निर्वाचन गर्नुपर्ने धारणा राखेका छन् ।
संघले भने १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षसँग सहकार्य र सहयोगका लागि अपिल गरेको छ ।






