फागुन १५ मा आउँदै ‘प्रवासी जीवन’

काठमाडौं,
मंसिर २५ ।

अभिनेता राजेश हमाल अभिनीत चलचित्र ‘प्रवासी जीवन’को प्रदर्शन मिति तय भएको छ । पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने जनाइएको हो ।

नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको उक्त चलचित्रलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गर्नुभएको हो ।

सार्वजनिक पोस्टरको पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’ जस्ता शब्दले चलचित्रको विषयलाई सङ्केत गरेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गर्नुएको हो ।

प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर चलचित्र तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताउनुभयो ।

‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे-वास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई चलचित्रमा देखाएका छौँ,’उहाँले भन्नुभयो ।

मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर चलचित्र तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न चलचित्र फलदायी हुने बताउनुभयो । चलचित्रमा राजेशसहित सरिता लामिछाने, बुद्धी तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गर्नुभएको छ ।

अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त चलचित्रलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता फिचर तथा छोटा चलचित्र निर्माण गर्नुभएका रविन आचार्य निर्माता रहेको यस चलचित्रको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको हो । निर्माता आचार्यले अभिनेता हमाल चलचित्रसँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रुपमा प्रस्ट्याउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार