धरान,
मंसिर २४ ।
निर्माता तथा निर्देशक रिमेश अधिकारी र सुरज खड्का नेतृत्वको समूहले कोशी प्रदेशको सुन्दर शहर धरानमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याउने भएको छ । चलचित्र विकास बोर्डबाट सम्पूर्ण सरकारी प्रक्रियासहितको इजाजत प्राप्त भइसकेको र निर्माण कार्य हाल तीव्र गतिमा अघि बढिरहेको उहाँहरूले जानकारी दिनुभयो ।
धरान–चतरालाइनस्थित करिब १७ कट्ठा क्षेत्रफलमा रहने पुरानो शिव सिनेमा हललाई पूर्णरूपमा पुनः निर्माण गरी आधुनिक स्वरूपमा पुनःसञ्चालन गर्न लागिएको अधिकारीले बताउनुभयो । नयाँ मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक प्रेक्षागृह रहनेछन् । तीमध्ये एउटा हलमा २५० सिट तथा अर्कोमा १९० सिट क्षमता रहनेछ । साथै रेष्टुरेण्ट, क्याँफेसहितका सम्पूर्ण सुविधा समेटेर सिनेमा हललाई आधुनिक मल्टिप्लेक्सका रूपमा निर्माण गरिँदै छ ।
दशकौंसम्म धरानमा सफलतापूर्वक सञ्चालनमा रहेको शिव सिनेमा हलले नेपाली चलचित्र व्यवसायमा महत्वपूर्ण भूमिका खेले पनि पछिल्ला वर्षमा यो हल बन्द रहेको थियो । धरानलाई राम्रो व्यावसायिक सम्भावनायुक्त शहर मानिँदै आएको छ । यसैबीच शिव सिनेमा हलको पुनःसञ्चालनले प्रदेशका निर्माता र प्रदर्शकलाई राहत मिल्ने विश्वास गरिएको छ ।
आगामी नयाँ वर्ष २०८३ को वैशाख १ गतेदेखि मल्टिप्लेक्सलाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको निर्माता÷निर्देशक अधिकारीले बताउनुभयो । निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने उद्देश्यसहित हाल धमाधम कार्य अघि बढिरहेको सुरजले जानकारी दिनुभयो । धरानमा आधुनिक मल्टिप्लेक्स सिनेमा स्थापनाले स्थानीय दर्शकसँगै चलचित्र निर्माण तथा वितरण क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।






