काठमाडौं,
मंसिर २४ ।
आगमी माघ १६ गतेदेखि प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘आ बाट आमा’ को टिजर सार्वजनिक गरिएको छ । आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको चलचित्रको सार्वजनिक टिजरमा परदेशिन लागेको छोराप्रति आमाबाबुको गहिरो माया र पीडालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको देखिन्छ ।
टिजरमा अभिनेता पल शाह पासपोर्ट हातमा लिएर अब्जर्व गर्दै देखिनुहुन्छ भने उहाँका बुबा-आमा प्रदीप रावत र विपना थापा रातभर छोराको बिदाइको पीडाले निदाउन नसकेर रोइरहेका देखिनुहुन्छ ।
निर्माण टिमका अनुसार टिजरले नै दर्शकलाई भावुक बनाउन सफल भएको छ । निर्देशक चन्द्र पन्तले नेपाली युवाको परदेशिने वास्तविक कथालाई पर्दामा उतार्नुभएको छ । चलचित्रमा पल शाह, प्रदीप रावत र विपना थापासहित सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित विष्ट, अंशु महर्जन, बेगम नेपालीलगायत कलाकारको अभिनय छ । बालकलाकारमा समाइरा थापा र शान अधिकारी हुनुहुन्छ ।
चलचित्रको कथा र निर्देशन चन्द्र पन्तकै हो भने पटकथा अभिमन्यु निरवीले लेख्नुभएको छ । संवाद अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तको सहकार्यमा तयार भएको हो । चलचित्रमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गर्नुभएको छ ।
चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाइली हुनुहुन्छ । नवराज उप्रेतीको छायांकन रहेको यस चलचित्रमा गम्भीर विष्ट र दिलिप ओखडाको कोरियोग्राफी छ । गीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी र अभी सुनारको संगीत छ । सम्पादन साहिल खान र मिलन श्रेष्ठले गर्नुभएको छ । चलचित्रलाई आरआर फिल्म्सका लागि रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्नुहुनेछ ।






