अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ अमेरिकाको दोस्रो वार्षिक अधिवेशन ल्यान्कास्टरमा हुने

काठमाडौं,
मंसिर २३ ।

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आईएनएलए), अमेरिकाको दोस्रो वार्षिक अधिवेशन आगामी मार्च २९, २०२६ मा पेन्सिलभेनिया राज्यको ल्यान्कास्टर शहरमा हुने भएको छ ।

संघका अध्यक्ष हरि उप्रेतीका अनुसार उक्त अधिवेशनको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ ले गर्ने तयारी गरेको छ । अधिवेशनमा संघको वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरिनेछ । साथै विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित संस्थागत अन्तर्क्रिया पनि गरिने जनाइएको छ ।

आईएनएलएले आफ्नो पहिलो अधिवेशनदेखि नै नेपाली गीत-साहित्यमा उल्लेखनीय योगदान पुर्‍याउने एकजना विशिष्ट गीतकारलाई एक हजार अमेरिकी डलरसहित ‘आइएनएलए(ज्ञानेन्द्र गदाल गीत सम्मान’ प्रदान गर्दै आएको छ । यस वर्षदेखि उक्त सम्मानसँगै नेपाल तथा प्रवासका गीत, संगीत र गायन विधाका ६ जना उत्कृष्ट स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गरिनेछ ।

गतवर्ष ‘आईएनएलए-ज्ञानेन्द्र गदाल गीत सम्मान-२०२४’ पहिलोपटक प्रख्यात गीतकार नीर शाहलाई अर्पण गरिएको थियो । प्रवासमा रहेर नेपाली गीत लेखनमा सक्रिय गीतकारहरूको एकमात्र अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था आईएनएलएले गीतकारहरूको हकहितको संरक्षण, सर्जक तथा सिर्जनाको कदर र नेपाली गीत-सङ्गीतको उन्नयनलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अगाडि बढाउँदै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार