‘मिरमिरे’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

काठमाडौं,
मंसिर १३ ।

माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिरमिरे’को पोस्टर सार्वजनिक भएसँगै विदेशमा यसको माग बढ्न थालेको छ । यससँगै निर्माण पक्षले फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु गरेको छ । पहिलो चरणमा इजरायल, युएई, कतार, बहराइन, र मलेसियाका लागि चलचित्रको प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

यी पाँच देशका लागि आशिष इन्टरटेन्मेन्टले फिल्मको राइट्स खरिद गरेको हो । सो कम्पनीसँग ‘जेरी अन टप’, ‘बलिदान’, ‘जनै हराएको मान्छे’, ‘पिताम्बर’, ‘होस्टेल ३’ जस्ता चलचित्रहरू मध्यपूर्वका देशमा प्रदर्शन गरिसकेको अनुभव छ । ‘मिरमिरे’को चर्चा र स्टारकास्टलाई मध्यनजर गर्दै प्रदर्शन अधिकार खरिद गरिएको कम्पनीले जनाएको छ ।

यम शेर्पाको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, प्रकाश सपूत मुख्य भूमिकामा हुनुहुन्छ । दयाहाङ र सिर्जनाले यसअघि निर्देशक शेर्पाको पहिलो चलचित्र ‘कार्साङ’मा श्रीमान्-श्रीमतीको भूमिकामा अभिनय गर्नुभएको थियो । ‘जारी २’मा पनि उहाँहरूको सहकार्य भएको थियो । दयाहाङ र प्रकाशले भने पहिलो पटक एकसाथ काम गर्नुभएको हो ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल, बाल कलाकार शाइसा गौचन लगायतको पनि अभिनय देख्न सकिनेछ । यसमा निर्देशक शेर्पा स्वयंको लेख्नुभएको छ भने आलोक शुक्लाको छायांकन छ । चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्मातामा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार