गीतसंग्रह ‘मेरी सञ्जीवनी’ विमोचन

पोखरा,
मंसिर १० ।

अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य तथा गीतकार सजु पौडेल बरालद्वारा रचित ‘मेरी सञ्जीवनी’ गीतसंग्रह पोखरामा एक विशेष समारोहबीच विमोचन गरिएको छ । पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजनामा उक्त कृतिको विमोचन गरिएको हो । गीतसंग्रहको लोकार्पण क्याम्पस प्रमुख प्राडा.हरिप्रसाद पाठक, विभागीय प्रमुख डा.यमनाथ तिमिल्सिना, पूर्वविभागीय प्रमुख प्राडा.कुसुमाकर न्यौपाने, कृतिका सम्पादक रमेश दाहाल, उप-प्राध्यापक गीताकुमारी पौडेल, गीतकार सजु पौडेल बराल, प्रकाशक राजीव बराल र स्रष्टाकी आमा नारायणी पौडेलले संयुक्त रूपमा गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्राडा.पाठकले क्याम्पसकी पूर्वछात्राले साधनारत रहँदै क्याम्पस सम्झेर आउँदा गर्व महसुस भएको बताउनुभयो । पुस्तकबाट प्राप्त आम्दानी लोकसंस्कृतिको अनुसन्धानमा खर्च गर्ने स्रष्टाको निर्णय स्तुत्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वविभागीय प्रमुख प्राडा.न्यौपानेले सजुलाई ‘असल सर्जक’का रूपमा चिनाउँदै उत्तरोत्तर अध्ययन, साधना र परिष्कारसहित अघि बढ्न सुझाव दिनुभयो । साथै उहाँले विभागीय गतिविधिमा अनेसासको योगदान स्मरण गर्दै स्रष्टाको चिन्तन र चेतनाले उत्कृष्ट गीत सिर्जना हुने धारणा राख्नुभयो ।

उप-प्राध्यापक गीताकुमारी पौडेलले कृतिमा समावेश ७१ गीतलाई प्रेम, वियोग÷पीडा तथा विविध भाव गरी तीन समूहमा वर्गीकृत गर्दै सजुले कृतिलाई उत्कृष्ट बनाउन खोजेको बताउनुभयो । उहाँले स्रष्टाको मनोविज्ञान बुझ्न नसकी गरिएको टिप्पणी अर्थहीन हुने धारणा राख्दै सजुलाई समाजका पितृसत्तात्मक प्रवृत्तिलाई नियाल्न सक्ने स्रष्टाका रूपमा व्याख्या गर्नुभयो ।

विभागीय सदस्य डा.श्रीधर न्यौपानेले स्नातकोत्तर नेपाली विषयकी विद्यार्थी सजु विभागको लागि असल स्रष्टा भएको सुनाउनुभयो । कृतिका सम्पादक रमेश दाहालले गीतकारका सिर्जना त्रुटिरहित बनाउन सम्पादनमा कुनै कमी नराखिएको उल्लेख गर्दै स्रष्टालाई सम्मानसमेत गर्नुभयो । विभागीय प्रमुख डा.तिमिल्सिनाले सजुले शिक्षाको सेवामार्फत सन्तानको जन्मदिन मनाएको उदाहरणीय भएको बताउनुभयो ।

गीतकार सजुले विदेश पुगेपछिमात्र देशको मूल्य थप प्रगाढ रूपमा महसुस हुने बताउँदै परदेशमा कलम नै पीडा पोख्ने माध्यम बन्ने धारणा राख्नुभयो । आमाबाटै गीत लेखनको प्रेरणा पाएको बताउँदै उहाँले विभागप्रति कृतज्ञता व्यक्त गर्नुभयो । समारोहमा स्रष्टा सजुले विभागीय पुस्तकालयका लागि २८ हजार रुपैयाँ बराबरका पुस्तकहरू हस्तान्तरण गर्दै छोरा सजीव बरालको नवौं जन्मदिन पनि मनाउनुभयो । कृतिका प्रकाशक राजीव बराल र नारायणी पौडेलले उक्त पुस्तकहरू विभागलाई हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी कृतिका सम्पादक तथा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, होमनाथ सुवेदी, डा.डीआर उपाध्याय, लेखनाथ पोखरेललगायत लेखकका तीन दर्जनभन्दा बढी कृतिहरू क्याम्पस पुस्तकालयलाई प्रदान गर्नुभएको थियो ।
विभागीय सदस्य निर्मल सापकोटाले पुस्तकको मूल्य भए पनि ज्ञानको मूल्य नहुने भन्दै उपलब्ध गराइएका पुस्तकहरूले विद्यार्थीलाई ठूलो लाभ हुने विश्वास व्यक्त गर्नुभयो । आयोजकका तर्फबाट अतिथि, समीक्षक, सम्पादक तथा पत्रकारलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार