नेपाल प्रिमियर लिग : आज जनकपुर र विराटनगर तथा कर्णाली र सदूरपश्चिम भिड्दै

काठमाडौं,
मंसिर ८ ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दैछन् । दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुवै खेल बिहान र साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।

दुई-दुई खेल खेल्दा अहिलेसम्म सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ । प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुई-दुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन् । जनकपुरले एक खेल मात्र खेलेको छ भने पोखराले दुई प्रतिस्पर्धामा दुवै गुमाइसकेको छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ । एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।

शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार