काठमाडौं,
मंसिर ६ ।
चलचित्र ‘बाटुलो जून’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा चलचित्रका कलाकारदेखि निर्माता-निर्देशकले स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गर्दै काठमाडौंमा छायांकनको औपचारिक सुरुआत गरे । यसअघि धादिङको नौबिसेमा यो चलचित्रका केही दृश्य खिचिएको थियो ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा अनमोल केसी, नेन्सी खड्का र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहनेछ । नेन्सी र प्रिन्सीमा अनमोलको जोडी कोसँग बाँधिनेछ भन्नेबारे जानकारी गराइएको छैन । अभिनेता भुवन केसीको निर्देशन रहने यो चलचित्रमा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना लगायतको पनि अभिनय रहने जनाइएको छ ।
पछिल्लो पटक ‘ड्रिम्स’ निर्देशन गर्नुभएका भुवनले ‘बाटुलो जून’ ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताउनुभयो ।
जीया केसी र भविष्य खड्का निर्माता रहेको चलचित्रको छायांकन काठमाडौंसँगै ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा ४५ दिनसम्म हुनेछ ।
चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्मातामा हुनुहुन्छ भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । यसमा छायांकन राजेश श्रेष्ठको रहनेछ । चलचित्रका गीतमा रेनशा वान्तवा राईले कोरियोग्राफी गर्नुहुनेछ ।






