भेटेरन्स कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सम्पन्न

✍️ प्रकाश सुवेदी
मंसिर ५, भर्जिनिया ।

नेपाली-अमेरिकन सेवानिवृत्त सैनिकहरूको संस्था ‘नेपाली मिलिटरी भेटेरन्स क्लब’ द्वारा आयोजित भेटेरन्स कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण अमेरिकाको भर्जिनियास्थित मनाससमा नोभेम्बर ८ र ९ मा उत्साहपूर्वक सम्पन्न भएको छ । भर्जिनिया, मेरिल्याण्ड र वासिङ्टन डिसीमा बसोबास गर्दै आएका पूर्वसैनिकहरूद्वारा सञ्चालन भएको प्रतियोगितामा टेक्सास, न्युयोर्क, ओहायो, पेन्सिलभेनिया, मेरिल्याण्ड र भर्जिनियासहित ६ राज्यका खेलाडीहरूले सक्रिय सहभागिता जनाएका थिए ।

खुला समूहतर्फ १४ टिमबीच प्रतिस्पर्धा भएकोमा फाइनल खेल बाल्टिमोर एथलेटिक क्लब (बिएसी) र झापा-एक्सआइबीच रोमाञ्चकरूपमा सम्पन्न भएको थियो । निर्धारित समयसम्म गोलरहित बराबरीपछि पेनाल्टीमा बिएसीले आठ-सातको जित निकाल्दै १० हजार अमेरिकी डलर, ट्रफी र मेडलसहित उपाधि जित्यो । झापा (एक्सआइ-टेक्सास) उपविजेता बन्दै पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गर्‍यो ।

उमेर समूह ३५ं को फाइनलमा पेन्सिलभेनियाको ह्यारिसबर्ग भेटेरन्स एफसीले भर्जिनियाको नोभा रोयल्स एथलेटिक क्लबलाई पाँच-दुईले पराजित गर्दै पाँच हजार डलर, ट्रफी र मेडल हात पार्‍यो । उत्कृष्ट खेल प्रस्तुत गरे पनि नोभा रोयल्स दुई हजार डलर, ट्रफी र मेडलसहित उपविजेतामा सीमित रह्यो । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, उत्कृष्ट खेलाडी तथा सर्वोच्च गोलकर्तालाई विशेष सम्मान प्रदान गरिएको थियो ।

क्लबका पदाधिकारी सन्दीप बास्तोलाका अनुसार संस्थाको उद्देश्य डिसी, बाल्टिमोर र मेरिल्याण्ड क्षेत्रका पूर्वसैनिक तथा अमेरिकी सेनामा कार्यरत नेपाली युवालाई संगठित गर्दै समुदायमा देखिन सक्ने समस्यामा सहकार्य पु¥याउने, खेलकुद तथा सांस्कृतिक कार्यक्रममार्फत् नेपाललाई चिनाउने र अमेरिकी सुरक्षा संयन्त्रमा रहेका नेपालीहरूको योगदानलाई सम्मानपूर्वक प्रस्तुत गर्ने रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार