चलचित्र निर्माता पौडेलको निधन

काठमाडौं,
मंसिर ५ ।

चलचित्र ‘ज्वाला’ र ‘जीवन संघर्ष’ का निर्माता दिलिप पौडेलको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत ७४ वर्षीय पौडेलको बुधबार राति निधन भएको हो ।

पौडेलले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टि मैनाली, रूपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायत कलाकारलाई लिएर चलचित्र ‘ज्वाला’ निर्माण गर्नुभएको थियो ।

त्यसैगरी राजेश हमाल, मिथिला शर्मा, युवराज लामा, आराधना क्षेत्री, उत्पला खड्कालगायतलाई समेट्दै चलचित्र ‘जीवन संघर्ष’ निर्माण गर्नुभएको थियो ।

चलचित्र निर्माणसँगै पौडेल नेपालमा पहिलोपटक कानुनी लेखापढी केन्द्र स्थापना गर्ने व्यक्तिमध्ये एक मानिनुहुन्छ । उहाँले डिल्लीबजारबाट ‘आनन्द लेखापढी सेन्टर’ सञ्चालनमा ल्याएउनुभएको थियो ।

साथै नेपाल लेखापढी कानुन व्यवसायी संघका संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँ काठमाडौंको ओम् शान्ति चोक, भक्तपुरको डोलेश्वर र इटहरीमा ‘सिमपानी कबाब घर’ सञ्चालन गर्दै आउनुभएको थियो । उहाँको बुधबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको परिवारजनले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार