काठमाडौं
मंसिर ३ ।
नारी स्रष्टा समाज, नेपालले वार्षिकोत्सवमा विभिन्न पुरस्कार तथा सम्मान अर्पण गरेको छ । समाजले काठमाडौंमा एक कार्यक्रमबीच देशभरका २५ भन्दा बढी स्रष्टालाई विभिन्न पुरस्कार र सम्मान अर्पण गरेको हो । ममता मृदुलको अध्यक्षता र विवश पोखरेल तथा सावित्री कक्षपतिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस वर्ष ‘प्रभुभक्त छोरीनानी वर्ष पुस्तक-२०८१’ धरानका शुक्रराज कुँवरको लघुकथासंग्रह ‘बगैंचा’ लाई दिइयो । पुस्तक छनोटकर्ता रमेन्द्र कोइराला र रामकुमार पण्डितलाई पनि सम्मान गरिएको थियो ।
‘मोहनलता स्रष्टा सम्मान’ ध्रुवराज थापा ‘पुरुष’, लीलानाथ सिलवाल, डम्बरुवल्लभ भण्डारी र धन्वन्तरी मिश्र ‘कात्यायन’ लाई अर्पण भगरिएको थियो । ‘नारी स्रष्टा सम्मान’ दीपा चौधरी (कैलाली), शारदा घिमिरे भैल (बनेपा), सुधा मैनाली, राधा सुवेदी, सत्या अधिकारी, निशिता जोशी (ललितपुर) र सेसेमी लिम्बुलाई प्रदान गरियो ।
यसैगरी विश्वविमोहन श्रेष्ठलाई ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार’, राजेन्द्र शलभलाई काफ्ले स्रष्टा सम्मान, प्रमोद प्रधानलाई कविराज कौशिला स्रष्टा सम्मान, शंकर खरेललाई भीमलाल यशोदा स्रष्टा सम्मान र मोक्षदा दाहाललाई कालीगंगा बालस्रष्टा सम्मान प्रदान गरिएको थियो ।
लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लाई ‘रमेन्द्र सावित्री लघुकथा पुरस्कार’ प्रदान गरिएको थियो भने पुरस्कार संस्थापक विक्रमभक्त जोशी, रोशन पराजुलीलगायतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा अशेष मल्ल, विधान आचार्य, विष्णु केसी, रमेन्द्र कोइराला, ममता मृदुललगायतले सम्मानित स्रष्टाको परिचय राख्नुभएको थियो । दीपक लोहनी, विनोद नेपाल, ललिता दोषी, राधेश्याम लेकाली, गोकुल अधिकारी, दिव्य गिरी, शान्ति भण्डारी दाहाललगायत व्यक्तित्वको सो अवसरमा स्रष्टाको उपस्थिति थियो ।






