काठमाडौं,
कात्तिक २८ ।
यही मंसिर १ गते सोमवारदेखि मंसिर २७ गते शनिवारसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रीमियम लिग (एनपिएल) को टिकट विक्री औपचारिक रूपमा प्रारम्भ भएको छ ।
क्रिकेट संघ नेपाल (क्यान) ले एउटा सूचना जारी गर्दै क्रिकेटका पारखीहरूका लागि विभिन्न वर्गका टिकट दरसमेत सार्वजनिक गरेको छ ।
एनपिएलको ओपनिङ डे तथा शनिवारका खेलका लागि जनरल टिकट मूल्य पाँच सय रुपैयाँ तथा प्रिमियम टिकट मूल्य एक हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, अन्य दिनहरुमा हुने खेलहरूका लागि जनरल टिकट पाँच सय रुपैयाँ तथा प्रिमियम टिकट एक हजार रुपैयाँ पर्ने क्यानले जनाएको छ । प्लेअफ तथा फाइनल खेलका लागि जेनेरल टिकटको मूल्य एक हजार रुपैयाँ तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ राखिएको छ ।
सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सीजन पासको व्यवस्था गरिएको छ । उक्त पासलको एकमुष्ठ मूल्य १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । उक्त पासमार्फत प्रतियोगिताका सबै खेलहरू हेर्न सकिने छ ।
टिकट बिक्रीका लागि खल्ती बाइ आईएमईलाई अधिकृत साझेदार बनाइएको छ । क्रिकेटका पारखीहरूले उक्त मोबाइल एपमार्फत अनलाइन टिकट खरिद गर्न सक्ने क्यानले जनाएको छ ।






