प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन उद्घाटन

भक्तपुर,
कात्तिक १२ ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीकसमेत भएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ(आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविन जंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल चार करोड ४६ लाख १८ हजार १९७ रूपैयाँ २२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

उद्घा्टन समारोहमा नेपाली सेनाका उपरथी, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी, स्थानीयबासीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार