काठमाडौं,
कात्तिक ८ ।
यही कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परान’ले दर्शकहरूलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ । चलचित्रले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार राशि घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले हाल जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्बिर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो कुराहरू लेख्न पाउनेछन् । साथै उक्त पोस्ट चलचित्रको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।
निर्माण पक्षले सो तस्बिरमा आफ्नो परानका रूपमा बुबा, आमा वा बुबाआमा दुवै वा श्रीमान्, श्रीमती या प्रेमी प्रेमिका, साथी अथवा दाजुभाइ एवम् दिदीबहिनी मध्ये जोकोहीसँगको फोटो पोस्ट गर्न सक्नेछन् । त्यसरी पोस्ट गर्ने मध्ये एक जनाले लक्की ड्र मार्फत एक लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्नेछन् भने सय जनाले चलचित्रको विशेष शो को टिकट पाउने छन् ।
यसैगरी ‘परान’ चलचित्रको प्रचारमा केही स्वयंसेवकहरू चलचित्रको क्यूआरसहित सहरका विभिन्न भागमा घुम्ने र शो क्रममा क्युआर स्क्यान गरी ‘परान’ चलचित्रको ट्रेलर वा गीत सेयर गर्नेलाई चलचित्रका कलाकारसँगै फिल्म हेर्ने अवसर प्रदान गर्ने घोषणासमेत गरेको छ । ५० जना दर्शकलाई यो अवसर दिइनेछ । यस दुवै प्रतियोगितामा रिलिजको एक साता पछिसम्म अर्थात कात्तिक २० गतेसम्म सहभागिता जनाउन पाइनेछ ।
गोल्छा अर्गनाइजेसनका शेखर गोल्छासमेतको प्रत्यक्ष सहभागितामा निर्माण भएकोले पनि ‘परान’लाई नेपाली रजतपटले विशेष रूपमा हेरेको छ । यस्तै, चलचित्रमा शेखर गोल्छासँगै तीन दशकको इतिहास बोकेको प्रिज्मा एडभर्टान्जिङ एजेन्सीका प्रमुख रञ्जित आचार्यको लगानी छ । नेपाली बिजनेसको मार्केटमा छुट्टै पहिचान बनाएका यी दुई व्यक्तिको आगमनका कारण पनि एउटा सशक्त चलचित्र बनेको अपेक्षासमेत दर्शकहरूमा छ ।
चलचित्रले एक बुबा र छोराको कथालाई प्रस्तुत गरेको छ । चलचित्रको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर साहले अभिनय गर्नुभएको छ । सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो पहिलो चलचित्र हो ।
चलचित्रको केही समयअघि सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । यस चलचित्रमा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय छ ।






