‘सोल्टिनी’को ‘बाचुन्जेल पो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कात्तिक १ ।

यही कात्तिक ६ गते भाइटिकाको दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिनुभएको छ ।

चलचित्र ‘सोल्टिनी’को कथा एक अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई उजागर गर्छ । अर्जुन सुवेदी निर्देशित यस चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा हुनुहुन्छ ।

उहाँहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायत कलाकारको पनि अभिनय छ ।

यसैबीच, चलचित्र ‘सोल्टिनी’को प्रमोसन अभियान अन्तर्गत कलाकार टोली देशका विभिन्न सहरमा देउसी–भैलो कार्यक्रममा सहभागी हुने भएको छ । पहिलो दिन कात्तिक २ गते झापाको दमक, दोस्रो दिन कात्तिक ३ गते सुनसरीको धरान, तेस्रो दिन कात्तिक ४ गते कास्कीको पोखरा र चौथो दिन कात्तिक ५ गते काठमाडौंमा देउसी-भैलो आयोजना गरिएको ‘सोल्टिनी’का प्रोजेक्ट सुजन खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार, यी कार्यक्रममार्फत दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रप्रति सकारात्मक ऊर्जा साट्ने र सांस्कृतिक वातावरणमा नेपाली चलचित्रको प्रचार गर्ने उद्देश्य रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार