मेरिल्याण्ड,
असोज २४ ।
चलचित्र ‘हरिबहादुरको जुत्ता’ले स्वदेशमात्र होइन, यहाँ पनि सुखद कमाइ गरिरहेको देखिएको छ । विशेषगरि नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालस र ओहायो राज्यमा यो चलचित्रले राम्रो कमाइ गरिरहेको वितरकले बताएका छन् ।
नेपालसहित फूलपातीबाट अमेरिकामा समेत रिलिज भएको यो चलचित्रले पहिलो साता अमेरिकामा ४८ हजार अमेरिकी डलर (६८ लाख नेरु) कमाएको वितरक उज्वल पौडेलले जानकारी दिनुभयो । यस चलचित्रबाट वितरणमा डेब्यू गर्नुभएकाका छोरा आहानलाई सघाउन उज्वल अहिले अमेरिकामा हुनुहुन्छ ।
पहिलो साता ८० पर्दाबाट अमेरिकामा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ अहिले पेन्सिलभेनिया, न्यूयोर्कको क्विन्स, एलुएस, हस्र्ट, ओहायको पिकरिंगटोन, भर्जिनियाको एसबर्न, टिनिसको नासभिल, म्यासाचुसेट्सको क्याम्ब्रिज, कनेक्टिकटको हार्डफर्ड, न्यू ह्यामसायरको हुकसेट, जर्जियाको जोन क्रिक्स, जर्जियाको बुफर्ड, मेरिल्याण्डको गेसिथबर्गस्थित हलमा चलिरहेको जनाइएको छ ।
दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रले नेपालमा पनि राम्रो कमाइ गरिरहेको देखिएको छ । चलचित्रले नेपालमा १० दिनसम्म तीन करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो चलचित्र यसको कथावस्तु, गीतसंगीत र सशक्त अभिनयले चर्चामा छ ।
चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारहरूको अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुनुहुन्छ । चलचित्रको छायांकन कृष्णबहादुर थापा, सम्पादन नकुल खड्का र संगीत वसन्त सापकोटा, दीपक शर्मा, प्रकाश सपुतले गर्नुभएको छ । गीतमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ ।






