नेपाल-भारत प्राध्यापक सम्मेलन स्थगित, नयाँ मिति चाँडै सार्वजनिक गरिने

काठमाडौं,
असोज २२ ।

नइ एकेडेमीले तिहारपछि आयोजना गर्ने तयारीमा रहेको ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ हाललाई स्थगित गरिएको जनाएको छ । नइले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । सार्वजनिक गरेको विज्ञप्ति मा भनिएको छ, ‘गत भदौ २३ र २४ गते देशमा घटेको अकल्पनीय दुखद् र कारुणिक घटनाले हामी स्तब्ध र विह्वल भएका छौँ । त्यसैले सम्मेलनको मिति केही समयका लागि सारिएको जानकारी गराउँदछौँ ।’

उक्त सम्मेलनमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयमा विद्यावारिधि तहसम्म पठनपाठन तथा अनुसन्धानमा संलग्न २५ जना प्राज्ञिक व्यक्तित्वहरूका दस्तावेजहरू प्राप्त भइसकेका छन् । सम्मेलन महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको प्राज्ञिक नेतृत्वमा हुन लागेको हो भने संयोजक प्रा.डा.महादेव अवस्थी र सल्लाहकार प्रा.केशव सुवेदी रहनुभएको छ । अवस्थी र सुवेदी दुवै त्रिमूर्ति निकेतनका संयोजकसमेत हुनुहुन्छ ।

सम्मेलनका लागि दस्तावेज पेश गर्ने प्राज्ञहरूमा प्रा.डा.ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णराज घतानी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.चूडामणि बन्धु, डा. टेकबहादुर छेत्री, प्रा.डा.ताराकान्त पाण्डेय, प्रा.डा.दयाराम श्रेष्ठ, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, डा.रजनी काफ्ले ढकाल, डा.राजकुमार क्षेत्री, प्रा.डा.लेखप्रसाद निरौला, प्रा.शिवगोपाल रिसाल, डा.अरुणा रार्ई, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.हर्कबहादुर शाही लगायत रहनुभएको छ । दस्तावेजहरूको समीक्षा प्रा.डा.महादेव अवस्थीले गर्नुहुने छ ।

नइ एकेडेमीका अनुसार सम्मेलनको अनुमानित खर्च ३५ लाख रुपैयाँ रहेको छ, जसका लागि कुनै पनि सरकारी वा भारत सरकारको आर्थिक सहयोग लिइएको छैन । विज्ञप्तिमा भनिएको छ, ‘हामीले जनस्तरबाट पनि सहयोग लिएका छैनौँ; सहयोग पाउने हो भने धन्य हुनेछौँ । तर, सम्मेलन आफ्नै स्रोतबाट सम्पन्न गर्ने तयारी छ ।’

सम्मेलनकै अवसरमा ८० ग्रामको म्याफ लिथो कागजमा १८/२४ इन्च आकारको, ८७२ पृष्ठको हार्डकभर ग्रन्थ ‘नेपाली भाषा-साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकमा प्रकाशित गरिनेछ । यो ग्रन्थ सम्मेलनमा सहभागी सबैलाई निःशुल्क प्रदान गरिने एकेडेमीकासदस्य–सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

प्राज्ञिक विमर्श र द्विपक्षीय शैक्षिक सम्बन्ध सुदृढीकरणको उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलनले नेपाली भाषा-साहित्यको अध्ययन-अनुसन्धानमा संलग्न विश्वविद्यालयहरूको भूमिका उजागर गर्ने अपेक्षा गरिएको छ । नयाँ मिति चाँडै सार्वजनिक गरिने नइले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार