निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं,
असोज २१ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत गर्दै सार्वजनिक गरेको छ । आयोगका पदाधिकारीहरूको सोमबार बसेको बैठकले निर्वाचन मिति निश्चित गर्दै सम्पूर्ण तयारी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो ।
आयोगका अनुसार राजनीतिक दल दर्ताका लागि मंसिर १ देखि १० गतेसम्म समय दिइनेछ ।

यो अवधिभित्र नयाँ दलहरू दर्ता गराउने वा विद्यमान दलहरूले आवश्यक विवरण अद्यावधिक गर्न सक्नेछन् । त्यसपछि, पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । यस कार्यालयमार्फत उम्मेदवारी दर्ता, नाम फिर्ता, र चुनाव चिह्न वितरणजस्ता सबै प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

आयोगका एक पदाधिकारीका अनुसार, दल दर्ता सकिएलगत्तै उम्मेदवार दर्ता र नाम फिर्ताको कार्यक्रम सुरु हुनेछ । माघ १० गतेभित्र यी सबै प्रक्रिया टुंगिने कार्यतालिका तय गरिएको छ । ‘दल दर्ता लगत्तैको एक हप्ताभित्र उम्मेदवार दर्ता, नाम फिर्ता र चिह्न वितरणका काम पूरा गर्ने योजना आयोगले बनाएको छ’, निर्वाचन आयोग स्रोतले जनाएको छ ।

आयोगका अनुसार सम्पूर्ण कार्यक्रमहरू अन्ततः राजपत्रमा प्रकाशित गर्नुपर्ने भएकाले आधिकारिक कार्यतालिका प्रकाशनका लागि कानुनी प्रक्रिया तयारीमा रहेको छ । यससँगै आयोगले निर्वाचन तयारी, मतदाता शिक्षा, मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र निर्धारण र कर्मचारी व्यवस्थापनका काम पनि चरणबद्ध रूपमा अघि बढाउने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूलाई समयमै तयारी गर्न पर्याप्त अवसर उपलब्ध गराइनेछ । उहाँले भन्नुभयो, ‘आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वासिलो निर्वाचन सुनिश्चित गर्न सबै पक्षसँग समन्वय गर्नेछ ।’

निर्वाचन आयोगले यसअघि नै निर्वाचन आचारसंहिता मस्यौदा तयार गरिसकेको छ, जसलाई आगामी साता मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको बताइएको छ । आयोगका अनुसार यो निर्वाचन प्रतिनिधिसभाको पाँचौँ कार्यकालका लागि हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार