‘परिवर्तन’को पोस्टरमा सुशीलको एक्सन लुक्स, माघ ९ गतेबाट रिलिज

काठमाडौं,
असोज ७ ।

चलचित्र ‘परिवर्तन’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार काठमाडौंमा एक कार्यक्रमबीच पोष्टर सार्वजनिक गर्दै चलचित्र आगामी माघ ९ (जनवरी २३) बाट देशभर प्रदर्शन हुने घोषणा गरेको हो । दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य अभिनेता सुशील श्रेष्ठलाई एक्शन अवतारमा देखाइएको छ । आगो, लडाइँ र प्रतिशोधको झल्को दिने पोष्टरमा उहाँले हातमा समातेको तरबारमा आगोको राप झल्किएको छ । पोष्टरकै माध्यमबाट नायकले ‘परिवर्तन’को यात्रामा भोग्ने संघर्ष र सस्पेन्स मिश्रित कथावस्तुको संकेत गरिएको निर्माण पक्षको दाबी छ ।

चलचित्रको एक्शन निर्देशन श्रीश्रेष्ठले गर्नुभएको छ । निर्माण टिमका अनुसार यो चलचित्रमा सुशील श्रेष्ठले अहिलेसम्मकै उत्कृष्ट एक्शन प्रस्तुत गर्नुभएको छ । निर्देशक विजय केरुङ निर्देशित चलचित्रको कथा तथा निर्माण दीपक सिवाकोटीले गर्नुभएको हो ।

चलचित्रमा सुशीलसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारीलगायत कलाकारको अभिनय रहनेछ । शिवम् अधिकारीले लेखेको चलचित्रमा बलिउडका कालाचरणले ब्याकग्राउण्ड संगीत दिनुभएको छ ।

चलचित्रको सम्पादन बन्दे प्रसादले गर्नुभएको छ भने सह–सम्पादन उमेश थापाले गर्नुभएको हो । एसोसिएट निर्देशक नवराज शर्मा, कलरिष्ट राजेन्द्र मोक्तान, डीओपी शिव ढकाल र प्रोडक्सन प्रमुखमा अरुण रेग्मी रहनुभएको छ । समाजमा परिवर्तनको चाहनासँग जोडिएको कथावस्तुमा बनेको यो चलचित्रलाई आर.आर. फिल्मस्ले वितरण गर्ने भएको छ भने डिजिटल साझेदारका रूपमा ओएसआर रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार