काठमाडौं,
भदौ ३० ।
नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि बडा दशैँलाई लक्षित गरी सुकिला नोट सटही सेवा सुरु गरेका छन् । तर, पहिलो दिन भने नोट साट्न सर्वसाधारणको आकर्षण न्यून देखिएको छ ।
राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार राष्ट्र बैंक तथा तोकिएका बैंकका शाखा कार्यालयमार्फत सर्वसाधारणले नयाँ नोट सटही गर्नसक्ने व्यवस्था मिलाइएको छ । सटही सुविधा असोज १० गतेसम्म उपलब्ध हुने बताइएको छ ।
यस वर्ष पनि प्रतिव्यक्ति पाँच रुपैयाँदेखि एक सय रुपैयाँ दरसम्मका सुकिला नोट मात्र साट्न पाइनेछ । अधिकतम १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा दिइने र पाँच रुपैयाँ दरका नोट भने नयाँ उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौंसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित राष्ट्र बैंकका प्रादेशिक कार्यालय तथा विभिन्न बैंकका शाखाबाट नोट सटही गर्न सकिन्छ ।






