आजदेखि खुल्दै सिनेमाघर

काठमाडौं,
भदौ ३० ।

जेन-जी पुस्ताको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण ६ दिनदेखि बन्द रहेका देशभरका हलहरू आज (सोमबार)बाट खुल्ने भएका छन् । आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले सुरक्षा सतर्कता अपनाउँदै हल खोल्ने निर्णय गरेको हो । गत मंगलबार जेन(जी आन्दोलनले उग्र रुप लिएपछि संघले अनिश्चितकालका लागि हल बन्द गर्ने निर्णय गरेको थियो ।

चलचित्र संघका अनुसार आन्दोलनको क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको विराटनगरको क्यूएफएक्स हलबाहेक अरु हलहरू सोमबारबाट सञ्चालनमा आउने संघका उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिनुभयो ।

सोमबारबाट हलहरू सञ्चालनमा आएसँगै ‘रिमै’, ‘कोशेढुंगा’, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘मोहर’, ‘गुन्यो चोलो’, ‘बागी ४’ लगायतका चलचित्रको प्रदर्शनलाई निरतन्तरता दिइने जनाइएको छ ।

जेनजी आन्दोलनका कारण हलहरू बन्द हुँदा सबैभन्दा मारमा ‘रिमै’ परेको थियो । यो चलचित्र रिलिज भएको तीन दिन मात्र भएको थियो ।

जेन-जी आन्दोलनका क्रममा धनजनको व्यापक क्षति भएको छ । सरकारी संरचनादेखि व्यक्तिका घरमा ठूलो क्षति पुगेको छ ।

आन्दोलनको दोस्रो दिन देशभर भएका तोडफोड र आगजनीका क्रममा सिनेमा हललाई समेत ठूलो क्षति पुगेको छ । नेपाल चलचित्र संघका अनुसार पाँचवटा हलमा १७ करोड भन्दा बढीको क्षति भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार