काठमाडौं,
भदौ २३ ।
अनिल बुढामगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यु’ अरुण पुनमगर अनुबन्ध हुनुभएको छ । उहाँलाई निर्माण टिमले चलचित्रका लागि अनुबन्ध गरेको हो । यसअघि अरुणले चलचित्र ‘खुश्मा’मा अभिनय गर्नुभएको थियो ।
यसअघि यो चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने अनुबन्ध भइसक्नुभएको छ । अरुणको उपस्थितिले चलचित्रलाई थप बलियो बनाउने निर्माण पक्षको भनाइ छ ।
यस चलचित्रको कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्तीमगर हुनुहुन्छ । यसअघि उहाँले ‘घरज्वाइँ’ जस्तो हिट चलचित्र निर्माण गर्नुभएको थियो । निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो । चलचित्रको सिनेमाटोग्राफीमा शिशिर बिशंखे रहनेछन् भने जि.एम.मुभिज प्रोडक्सन प्रा.लि.को ब्यानरमा यो चलचित्र निर्माण हुँदैछ ।
मंसिरको दोस्रो हप्ताबाट रोल्पालगायत स्थानबाट छायांकन गरिने निर्माण पक्षको भनाइ छ । यो चलचित्र आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउनेछ । आर आर फिल्म्स वितरण गर्ने चलचित्रको निर्माण व्यवस्थापक धनबहादुर राई हुनुहुन्छ ।






