‘वरिष्ठ बलराम’को पहिलो झलक पोष्टर र टिजर सार्वजनिक

काठमाडौं,
भदौ १९ ।

निर्देशक सुरेन्द्र पौडेलको चौथो निर्देशकीय चलचित्र ‘वरिष्ठ बलराम’को पहिलो झलक पोष्टर र टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले एकैसाथ दुई पोष्टर र पहिलो झलक सार्वजनिक गरेको हो ।

पोष्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बराललाई प्रमुख स्थान दिइएको छ । एक पोष्टरमा रातो सुट र सर्ट–पाइन्टमा देखिएका दयाहाङ क्रुद्ध मुद्रामा मोबाइल बोक्नुभएको छ भने विजय निराश मुद्रामा देखिनुहुन्छ । दोस्रो पोष्टरमा भने दयाहाङ र विजय दुवै सोचमग्न हुनुहुन्छ । यसमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप चौधरीलाई पनि क्यारेक्टर लुकमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक गरिएको टिजरमा दयाहाङ र विजयबीचको नोकझोक देखाइएको छ, जसले दर्शकमाझ चलचित्रप्रति उत्सुकता बढाएको छ । कात्तिक ६ गते भाइटीकादेखि सिनेमाघरमा आउने तयारी गरेको ‘वरिष्ठ बलराम’मा दयाहाङ, विजय, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ । सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

यो चलचित्रको कथा तथा सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेख्नुभएको हो । यसअघि पौडेलले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गर्नुएको थियो । वृषभ सिद्धि इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी चलचित्रको सहकार्यमा बनेको चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुनुहुन्छ । कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बि.घिमिरे हुनुहुन्छ ।

चलचित्रमा छायांकन मानकृष्ण महर्जन, संगीत प्रशान्त शिवाकोटी र विशेष पाण्डेय, एक्सन निर्देशन सम्राट शाक्य, नृत्य निर्देशन प्रदीप लामा र मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहनुभएको छ । चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार