ललितपुर,
भदौ १६ ।
गङ्गा सोनाम नेपाल आइडल सिजन-६ को विजेता हुनुभएको छ । शनिवार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता हुनुभएको हो । विजेता सोनामले २५ लाख नगद रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको हो ।
त्यसैगरी बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित हुनुभयो । उहाँहरूले क्रमशः नगद १० लाख र पाँच लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गर्नुभयो । दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । अभिनय खाती चौथो बन्नुभयो भने मृनल मानन्धर पाँचौ हुनुभयो । यी दुवैले एक लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले उपाधि आफ्नो पोल्टामा पार्नुभएको थियो ।
विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गर्नुभएको थियो ।
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले छ वटा सिजनसम्म पुग्दा नयाँनयाँ प्रतिभाहरुको जन्म भएको उल्लेख गर्नुभयो ।
समारोहमा पूर्वमन्त्री शेरबहादुर तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यलगायतको उपस्थिति थियोे ।
२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन-६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहनुभएको थियो।
ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुती मिनल मानन्धर, तेस्रो प्रस्तुती गङ्गा सोनाम, चौथो प्रस्तुती दर्शना गान्धारी र पाँचौँ प्रस्तुती अभिनय खातीले प्रस्तुत गर्नुभएको थियो ।






