काठमाडौं,
भदौ ८ ।
गजलकार राधा कणेलका प्रेमिल शब्द, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको धून र गायिका जलजला परियारको सुमधुर स्वरले शुक्रबार राजधानीस्थित सर्वनाम थिएटरमा श्रोतालाई मन्त्रमुग्ध बनायो । १६०औं मोती जयन्तीका अवसरमा आयोजित ‘राधा कणेल साङ्गीतिक गजल साँझ, २०८२’मा परियारले कणेलका पाँच गजल प्रस्तुत गर्नुभएको थियो । ती सबै गजलमा श्रेष्ठकै एकल संगीत रहेको थियो । प्रस्तुत शृंगारिक र भावप्रवण गजलले हललाई बारम्बार तालीले गुञ्जायमान बनाएको थियो ।
कार्यक्रममा गजल अभियन्ता तथा समालोचक घनेन्द्र ओझाले २०८०-२०९० लाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ घोषणा गरिएको जानकारी दिँदै यसलाई ऐतिहासिक कार्यक्रम बताउनुभयो । उहाँका अनुसार नेपाली गजल संगीतमा पहिलोपटक नारी स्रष्टाका गजल नारीकै स्वरमा एकल गायनमार्फत प्रस्तुत भएको हो ।
समालोचक प्राडा.देवी नेपालले नेपाली गजल लेखन र संगीत दुबै क्षेत्रमा तीव्र परिष्कार भएकोमा खुशी व्यक्त गर्नुभयो । गजलकार तथा संगीत मर्मज्ञ रवि प्राञ्जलले कार्यक्रमलाई उत्साहप्रद र स्मरणयोग्य भएको भन्दै गायनमार्फत गजललाई लोकप्रिय बनाउने प्रयासको सराहना गर्नुभयो ।
कार्यक्रममा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले वाद्यवादनमा साथ दिनुभएको थियो । अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रियसनको आयोजनामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले सहकार्य गरेको थियो ।






