ललितपुर,
भदौ ३ ।
नेपालभाषा एकेडेमीले ललितपुर महानगरपालिकाको सहकार्यमा ऐतिहासिक परम्परागत शैलीअनुसार दबु प्याखं (डबली नाटक) पुनर्जीवित गर्ने भएको छ । लोपोन्मुख अवस्थामा पुगेको सामाजिक सन्देशप्रधान डबली नाटकलाई पुनःस्थापना गर्दै नयाँ पुस्तालाई नेवार भाषा, कला, संस्कृति र संस्कारबारे परिचित गराउने उद्देश्यले मञ्चन गर्न लागिएको आयोजक समितिले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
इन्द्रजात्राको अवसरमा मञ्चन हुने दबु प्याखंमा सत्कर्म वा दुष्कर्म गरेपछि प्राप्त हुने सम्मान वा दण्डबारे जनतालाई सचेत गराउने शिक्षामूलक सन्देश प्रस्तुत गरिने बताइएको छ । दबु प्याखंको निर्माण र मञ्चनका लागि नेपालभाषा एकेडेमीले विशेष समिति गठन गरेको छ । समितिका संयोजक विजयरत्न असंबरेको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा सदस्य प्राज्ञ राजित बहादुर श्रेष्ठले प्रेस वक्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एकेडेमीका चान्सलर मल्ल के.सुन्दर, ललितपुर महानगरका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष राजु महर्जन र एकेडेमीका सदस्य–सचिव महेन्द्र गोपाल कर्माचार्यले मन्तव्य राख्नुभएको थियो ।
समितिका अनुसार यसपटकको दबु प्याखंमा ललितपुरका कलाकार र नाट्यसमूह मात्र सहभागी हुनेछन् । उपयुक्त स्क्रिप्टका लागि प्रस्ताव आह्वान गरिएको छ भने प्राप्त प्रस्ताव मूल्यांकन गर्ने अधिकार आयोजककै हुनेछ ।
दबु प्याखं सुरुवाती चरणमा ललितपुरका तीन सांस्कृतिक दबुमा मञ्चन गरिनेछ । लोकप्रियताको आधारमा अन्य स्थानमा पनि प्रदर्शन विस्तार गर्ने तयारी रहेको छ । उपयुक्त स्क्रिप्टलाई रिहर्सल खर्च उपलब्ध गराइने र मञ्चनपछि उचित पारिश्रमिक पनि प्रदान गरिने एकेडेमीले जनाएको छ ।






