काठमाडौं,
साउन २७ ।
असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ ।
च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने दुई मिनेट ३४ सेकेन्ड अवधिको टिजरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, चलचित्रले आफ्नो कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ।
टिजरले चलचित्र आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो-ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ । कवि उपेन्द्र सुब्बा लिखित तथा निर्देशित चलचित्र रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गर्नुभएको हो ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु लगायतका कालकारको अभिनय छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म २०८० सालको ब्लकबस्टर फिल्म ‘जारी’को सिक्वेल हो ।






