काठमाडौं,
साउन १९ ।
सञ्चारकर्मी र सामाजिक कार्यकर्ता राजन थापाले एउटै दिन दुई प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको छ । उहाँलाई बनेपास्थित लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा आयोजित ‘सातौं संस्करणको किड्स अफ द इयर इन्टरनेशनल २०२५’ कार्यक्रममा ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०२५’ प्रदान गरिएको हो । प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम र अन्तर्राष्ट्रिय मोडेल तथा फेसन प्रशिक्षक राज फैजुले थापालाई प्रमाणपत्र र सम्मान प्रदान गर्नुभएको थियो ।
त्यसै दिन काठमाडौंमा आयोजित विशेष कार्यक्रममा थापाले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ I(MD ३२५), नेपालबाट ‘सहयोगी लायन’ (Supportive Lion) सम्मान पनि प्राप्त गर्नुभएको थियो । यो सम्मान जिल्ला गभर्नर लायन पार्वती खरेल पाण्डेले प्रदान गर्नुभएको थियो ।
थापा विगत एक दशकदेखि पत्रकारिता र समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँले ओम समाज दन्त अस्पताल लगायतका स्वास्थ्य संस्थासँग सहकार्य गर्दै देशभर ‘चौक-गल्लीदेखि स्कूल-स्कूलसम्म’ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा अग्रणी भूमिका खेल्दै आउनुभएको छ । गत वर्ष मात्र ७९ वटा स्वास्थ्य शिविर सञ्चालन गर्नुभएका थापाले आगामी वर्ष १०० भन्दा बढी शिविर आयोजना गर्ने लक्ष्य राखेको बताउनुहुन्छ ।






