काठमाडौं,
साउन १९ ।
कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि तथा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाद्वारा लिखित उक्त कृतिको लोकार्पण काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा.नवराज लम्सालले संग्रहको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथिका रूपमा प्राडा.खगेन्द्र लुइँटेलले संग्रहमा प्रयोग गरिएका प्रतीक र शिल्पको प्रशंसा गर्दै यसले पाठकलाई चिन्तनशील बनाउने विचार व्यक्त गर्नुभयो । अर्का विशिष्ठ अतिथि प्राडा.कृष्णहरि बरालले सिटौलाका कविता अन्तरात्माको स्पर्श भएको बताउँदै, यसले पाठकमा गहिरो प्रभाव छोड्ने जिकिर गर्नुभयो ।
कृतिका भूमिकाकार महाकाव्यकार खेमनाथ दाहालले आफूले भूमिका विस्तृतमा लेखेको भए पनि केही संक्षिप्त रुपमा यसमा समावेश गरिएको भन्दै कविता सामाजिक परिवेश र सशक्त भएको टिप्पणी गर्नुभयो । अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकालीले संग्रहको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कृतिमा समर्पण, अध्यात्म र सामाजिक यथार्थको सूक्ष्म चित्रण भएको धारणा राख्नुभयो ।
नेपाल च्याप्टरकी महासचिव रञ्जना निरौलाले सहजिकरण गर्नुभएको कार्यक्रममा साहित्यकार लीला लुइँटेल, सुमन वर्षालगायतका लेखक तथा स्रष्टाहरूको उपस्थिति थियो । नुवाकोटमा जन्मिनुभएका कवि राजु सिटौला हाल अमेरिकामा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्य र अनेसासको अभियानमा सक्रिय हुनुहुन्छ ।






