बेलायत,
साउन १५ ।
नेपाल चलचित्र निर्देशक समाज युके च्याप्टर, द एक्सन ग्रुप र भिजन संसारको संयुक्त आयोजनामा ‘विदेशमा नेपाली चलचित्रको विकास र विस्तार’ विषयक विशेष छलफल भएको छ । कार्यक्रममा नेपाल र बेलायतमा नेपाली सिनेमाको अवस्था, सम्वद्र्धन, प्रवद्र्धन, विकास, विस्तारसँग सम्बन्धित चुनौती र समाधानका उपायबारे विस्तृत छलफल भएको थियो ।
नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली चलचित्रको समग्र तथ्यांक प्रस्तुत गर्दै लगानीका लागि प्रेरक वातावरण निर्माण भइरहेको उल्लेख गर्नुभयो । निर्देशक दिपेन्द्र लामाले विदेशी लगानी र बाहृय स्रोतबाट हुने आम्दानीलाई नेपाली चलचित्रका लागि ‘अमृत समान’ भएको धारणा राख्नुभयो ।
चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले अहिलेको नेपाली चलचित्र क्षेत्रको वस्तुस्थिति चित्रण गर्दै चलचित्रप्रेमीलाई ‘मनदेखि माया गर्न’ आग्रह गर्नुभयो । निर्देशक अरुणकुमार प्रधानले विदेशमा चलचित्र महोत्सवको आवश्यकता प्रष्टाउँदै यस्ता कार्यक्रमले सिनेमा बुझाउने, प्रवद्र्धन गर्ने र सम्बद्ध सबैलाई एउटै थलोमा ल्याउने अवसर दिने जिकिर गर्नुभयो ।
कार्यक्रममा निर्देशक संगीता श्रेष्ठले छोटा चलचित्रमा लगानीद्वारा प्रवद्र्धनको सम्भावना औंल्याउनुभयो । स्कटल्याण्डमा हालै सम्पन्न ‘निफ २०२५’ (नेपाल इन्टरनेशनल फिल्म फेसिटभल) को पनि समीक्षा गरिएको थियो । बेलायत निवासी वरिष्ठ चलचित्रकर्मी शशी थापा सुब्बाले बेलायतमा रहेका नयाँ कलाकारमा लगानी, तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यसले बेलायतस्थित कलाकारमा आत्मविश्वास बढाएर लगानीमैत्री वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालनकर्ता तथा चलचित्रकर्मी मनिष श्रेष्ठले बेलायतमा नेपाली सिनेमाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । निर्देशक समाज बेलायत च्याप्टरका अध्यक्ष सनमकुमार बैरागले सभापतित्व गर्नुभएको थियो ।
फ्लोर खुला सत्रमा बेलायतका चलचित्रकर्मीले जिज्ञासा राखेका थिए । सहभागीहरूले यस्तो बहसले नेपाली चलचित्र, भाषा र संस्कृतिमा योगदान पु¥याउने बताउँदै प्रायः बेलायतमा हुने कार्यक्रम पुरस्कारसम्म सीमित हुने गरेको सन्दर्भमा यो छलफल कार्यक्रम ‘नयाँ उपलब्धि’ भएको उल्लेख गरे । कार्यक्रममा इनास बेलायतका अध्यक्ष सञ्जय कँडेल, अन्तर्राष्ट्रिय लाखे नाचका प्रवद्र्धक विनोद चिपालु, चलचित्र ‘लाखे आजु’ का निर्माता तथा अन्य चलचित्रप्रेमी, कलाकार र निर्माता उपस्थिति थिए ।
सो अवसरमा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले चाँडै बेलायतस्थित चलचित्रकर्मीका लागि क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो । साथै स्कटल्याण्डमा आयोजित निफ २०२५ मा सहभागी हुन नसकेका कलाकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।






