‘मिष्टर नेपाल २०२५’का डिजिटल अडिसन हुँदै

काठमाडौं,
साउन १५ ।

‘मिष्टर नेपाल २०२५’ प्रतियोगिताको खोजी सुरु भएको छ । प्रतियोगिता आयोजक नेक्स्ट मोडल्स नेपालले इटहरी, जनकपुर, हेटौंडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज र काठमाडौंलगायत विभिन्न स्थानमा छनोट चरणको अडिशन सम्पन्न गरिसकेको छ ।
छनोट चरणमा सहभागी हुन छुटेका इच्छुक युवाका लागि आयोजकले अन्तिम अवसरस्वरूप डिजिटल अडिशनको व्यवस्था गरेको छ । स्वदेशका लागि डिजिटल अडिसन साउन १७ गते (अगष्ट २) र अन्तर्राष्ट्रिय अडिशन अमेरिकामा साउन १८ गते (अगष्ट ३) तय गरिएको छ । अमेरिकास्थित अडिशनका निर्देशक सन्दीप पोखरेल हुनुहुन्छ ।

डिजिटल अडिशनमार्फत छानिएका प्रतिस्पर्धीलाई आयोजकले सार्वजनिक गर्नेछ र अगष्ट ४ (साउन २०) देखि अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न प्रशिक्षणमा सहभागी गराइनेछ । १८ देखि ३२ वर्षसम्म उमेरका, कम्तीमा पाँच फिट सात इन्च उचाइ भएका नेपाली नागरिकले विश्वको जुनसुकै कुनाबाट प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

देशभरिका युवा प्रतिभा समेट्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वलगायत दर्जनभन्दा बढी विषयमा प्रशिक्षण दिइनेछ ।

प्रवन्ध निर्देशक यत्ना पाण्डेका अनुसार प्रतियोगिताबाट नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनसमेत गर्ने उद्देश्य राखिएको छ । प्रतियोगिताबाट ‘मिष्टर वल्र्ड नेपाल’, ‘मिष्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरी तीन विजेता घोषणा गरिनेछ । विजेताहरूले अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्नुका साथै पाँच लाख रुपैयाँबराबरको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको कोरियोग्राफी तथा मेंटरशिप प्रशान्त ताम्राकारले सम्हाल्नुहुनेछ ।

सन् २००१ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता नेपालका पुरुषहरूका लागि सबैभन्दा ठूलो र प्रतिष्ठित फेसन तथा व्यक्तित्व विकास प्रतियोगिता मानिन्छ । नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यो वर्षको संस्करण विगतभन्दा अझ भव्य र प्रभावशाली हुने जिकिर गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार