आज नाग पञ्चमी, घरघरमा नागको पूजा गरिँदै

काठमाडौं,
साउन १३ ।

आज नाग पञ्चमी हिन्दु धर्मावल्मीहरूको घरघरमा नागको पूजा गरिँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । धार्मिक परम्परा अनुसार आज नागको पूजाअर्चना गरी घरका मूल ढोकामा नागको तस्विर टाँसेर यो पर्व मनाइँदै छ । नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्पको भय हुँदैन भन्ने हिन्दु शास्त्रको मान्यता रहेको छ ।

नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । यसदिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ । आजकै दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ ।

नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिँदैन ।

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नुपर्दछ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसंग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् ।

नागपञ्चमीकै दिन काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार