टेलिसिरियल ‘सपना’ प्रसारणमा (भिडियोसहित)

चितवन,
साउन १० ।

लोकप्रिय टेलिसिरियल ‘रिटायर हल्दार’ मा साधुराम पात्रबाट चर्चामा आउनुभएका कलाकार पिताम्बर आचार्यले नयाँ टेलिसिरियल ‘सपना’ निर्माण गर्नुभएको छ । उहाँको लेखन तथा निर्देशनमा तयार भएको ‘सपना’ नामक सिरियल शुक्रबारदेखि ‘पि. आचार्य’ युट्युब च्यानलमार्फत् प्रसारण भएको छ ।

उद्योग वाणिज्य संघ चितवन, टाँढीको सभाहलमा पत्रकार सम्मेलनमार्फत् सिरियलको सार्वजनिक जानकारी दिइएको हो । सिरियल चितवनका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।

निर्देशक आचार्यका अनुसार, ‘सपना’ मा आममानिसले दैनिक जीवनमा देख्ने सपनालाई मुख्य कथावस्तु बनाइएको छ । शृंखलामा सामाजिक सन्देशसहितको मनोरञ्जनात्मक प्रस्तुति रहेको उहाँको भनाइ छ ।

‘सपना’ मा पिताम्बर आचार्य, सुनिता आचार्य, भक्त थापा, पुष्प आचार्य, अमृतमान श्रेष्ठ, रमिला श्रेष्ठ, लक्ष्मण नेपाल, कल्पना उपाध्याय, गोमा रिजाल, शोभा पाण्डे, प्रशान्त अर्याल, पप्पुकुमार गुप्ता, अर्जुन कुमाल, प्रज्वल मगराती, विनोद गुरुङ, पदम कार्की, सानुमाया बास्तोला, राजकुमार भुजेल, लक्ष्मी बास्तोला, सुमित्रा रेग्मी, माया रेग्मी, टिकटकमार्फत् चर्चामा आउनुभएका विश्व सुन्दी, अफ्रिकन क्वीनलगायतको अभिनय छ ।

बालकलाकारका रूपमा सुवत लामिछाने, सिरोज पौडेल र कान्छी बास्तोला देखिनुभएको छ । शृंगार सञ्जय लामाले गर्नुभएको छ भने छायांकन तथा सम्पादन आवास रानाको छ । निर्माता आचार्यले ‘सपना’ लाई स्थानीयस्तरमा बसेर बनाइने स्तरीय टेलिसिरियलका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार