सागर केरुङ निर्देशित ‘चे’ हङ्कङमा विशेष प्रदर्शन हुने

काठमाडौं,
साउन ७ ।

लिम्बु समुदायको सामाजिक तथा सांस्कृतिक चेतनामा आधारित चलचित्र ‘चे’ यही साउन ३२ गते (१७ अगस्ट २०२५) हङ्कङमा विशेष रूपमा प्रदर्शन हुने भएको छ । याउ मा ताइस्थित कम्युनिटी हलमा साँझ ६ बजे आयोजना गरिने कार्यक्रममा चलचित्र प्रदर्शन गरिने जानकारी आयोजकहरूले दिएका छन् ।

चलचित्र प्रदर्शनको औपचारिक घोषणा मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टे सभाहलमा पत्रकार सम्मेलनमार्फत गरिएको हो । हङ्कङस्थित याक्थुङ मुञ्चइत चोक सयङले उक्त कार्यक्रम आयोजना गर्न लागेको हङ्कङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बु कलाकारलाई सम्मानस्वरूप सामाजिक सुरक्षाभत्ता दिनेलगायत अभियान सफल पार्न संस्थाले विविध कार्यक्रम गर्दै आएको छ ।

थाम्सुहाङले चलचित्र ‘चे’ आगामी असोज १७ गते (४ अक्टोबर २०२५) दक्षिण कोरियामा र मंसिर ११ गते (२७ नोभेम्बर २०२५) साउदी अरेबियाको दमाममा पनि प्रदर्शन गरिने जानकारी दिनुभयो । ‘चे’ले याक्थुङ सिने अवार्ड-२०८१, एफएलएफ अवार्ड-२०२४, पाँचौं आदिवासी जनजाति चलचित्र महोत्सव-२०८२, विराट म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८१, चलचित्र विकास बोर्डको विशेष चलचित्र पुरस्कार-२०८१ र एनआईएफएफ अवार्ड यूके-२०२५ मा विभिन्न विधामा पुरस्कार जितेको छ ।

चलचित्रमा लिम्बु समुदाय आन्तरिक र बाहृय रूपमा कसरी ‘लास’ (संस्कृति र पहिचान गुमाउँदै) हुँदै गइरहेका छन् भन्ने कथालाई चित्रण गरिएको छ । आधुनिक विकासको नाममा याक्थुङ आदिवासीहरूको समाधिस्थल भत्किँदा उत्पन्न सांस्कृतिक संकट र त्यसले समुदायमा पारेको असर चलचित्रको मूल विषय हो ।

याक्थुङ फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा लेखक, निर्देशक तथा निर्माता सागर केरुङ रहनुभएको छ । छायांकन युवराज राई, निर्माता इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ, सम्पादन पर्शु थलङ, पृष्ठभूमि संगीत मोनी ताम्लिङ, कला निर्देशक उदय बेघा, शृंगार अमृता जवेगुले गर्नुभएको छ । गीत र संगीत सागर केरुङ, बुद्धराज लिम्बु, स्वर इन्दु फोम्बो, नोगेन लिम्बु, राजेन्द्र केरुङ, तुलसा लिम्बुलगायतको छ ।

चलचित्रमा सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, नरेन्द्रराज केरुङ, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, नुनाम केरुङ, कर्णहाङ सुब्बा ताम्लिङ, संगीत आंखेवा, सुरेन शिशिर केरुङ, प्रेमहाङ केरुङ, अमृता जवेगु, चन्द्रकला साँवा लगायत कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार