काठमाडौं,
असार २७ ।
नेपालकै प्रमुख अटो हबका रूपमा चिनिने नक्सालमा सवारीसाधनसम्बन्धी विविध सेवा एकै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित ‘सि-कार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच महानायक राजेश हमालले यसको उद्घाटन गर्नुभएको हो ।
सि-कारले नयाँ तथा पुराना (सेकेन्ड ह्यान्ड) सवारीसाधनको शोरुम, सवारी पार्ट्स तथा एस्सेसरिज पसल, द्रुत गतिका चार्जिङ स्टेशन, क्याफे तथा रेस्टुरेन्ट लगायतका सेवा एउटै परिसरभित्र समेटेको छ । संस्थापक रोशन घिमिरेका अनुसार सि-कारले अटोमोबाइल क्षेत्रका अधिकांश आवश्यकताहरूलाई एकीकृत रूपमा सम्बोधन गर्ने लक्ष्य लिएको छ ।
उद्घटन समारोहमा बोल्दै हमालले एउटै स्थानमा यति धेरै सेवा उपलब्ध हुँदा उपभोक्तालाई समय र खर्च दुवैको बचत हुने बताउँदै यस्तो मोडलले नेपाली अटो क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
कम्पनीका अनुसार पछिल्लो समय लोकप्रिय हुँदै गइरहेको विद्युतीय सवारी क्षेत्रमा पनि सि-कारले विशेष ध्यान दिएको छ । विशेषगरी विवाइडी ब्रान्डको नयाँ शोरुमले ग्राहकलाई सजिलो बनाउने अपेक्षा गरिएको छ । साथै, विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड गाडीहरूको खरिद-बिक्री, सवारी एक्सचेञ्ज तथा वारेन्टी सेवा पनि उपलब्ध छन् ।
चार्जिङ सुविधाका सन्दर्भमा सि-कारले एकैपटक आधा दर्जनभन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सक्ने क्षमताको द्रुत चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । साथै, परिसरमै रहेको इटालियन रेस्टुरेन्टबाट ग्राहकले स्तरीय खानपान सेवा पनि प्राप्त गर्न सक्नेछन् ।
सि-कारमा सवारी स्पेयर पार्ट्स सहज तथा सुलभ मूल्यमा उपलब्ध छन् । त्यस्तै, सेकेन्ड ह्यान्ड सवारीसाधन खरिद गर्ने ग्राहकलाई तीन महिनासम्म कुनै प्राविधिक समस्या आएमा कम्पनीले आफैँ जिम्मेवारी लिने वारेन्टी सुविधा प्रदान गरिएको छ ।
ग्राहक सुविधा थप व्यापक बनाउन कम्पनीले सवारी बीमा गराउनेहरूका लागि बिलबुक नवीकरण निःशुल्क गरिदिने व्यवस्था गरेको छ । यसबापत कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।
साथै, कम्पनीले विभिन्न वर्गमा सदस्यता योजना ल्याएको छ, जसअनुसार सेवा प्रयोग गर्ने ग्राहकले प्वाइन्ट संकलन गर्न सक्नेछन् र त्यसको आधारमा विभिन्न छुट र लाभ पाउनेछन् ।
करीब चार रोपनी क्षेत्रफलमा फैलिएको सि-कारले हाल ५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । कम्पनीले आगामी दिनमा सेवा तथा क्षेत्रीय विस्तार गर्ने योजना समेत अघि सारेको छ ।






