बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा पुनः ३० दिनको रोक

सिन्धुली,
असार २१ ।

बिपी राजमार्गको सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीसाधनको सञ्चालनमा रातको समयमा पुनः ३० दिनका लागि रोक लगाइएको छ । सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार सूचना जारी गर्दै असार २० गतेदेखि लागू हुने गरी हरेक दिन साँझ ६:३० बजेबाट बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय सार्वजनिक गरेको हो ।

यसअघि असार ६ गतेदेखि १५ दिनका लागि प्रारम्भ गरिएको यो निषेधाज्ञा वर्षा अझै नरोकिएकाले अझै एक महिना लम्ब्याइएको प्रशासनले जनाएको छ । प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल पनि मनसुन सक्रिय अवस्थामा रहेकोले कुनै पनि समयमा वर्षाका कारण विपद् सिर्जना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानीस्वरूप रातको समयमा सवारी सञ्चालन रोक्ने निर्णय लिइएको हो ।’

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचनासमेत गरिएको छ । सुरक्षा समितिको मिति २०८२/०३/०६ को संयुक्त बैठकले बिपी राजमार्गमा सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो । स्थानीय प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक व्यवस्थाको प्रयोग गर्न र सतर्क रहन आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार