काठमाडौं,
असार १४ ।
यही असार २७ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच देशभक्ति भावनाको कथावस्तुमा बनेको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नेपालको भूमि, भाषा, धर्म, संस्कृतिमाथि भइरहेको अतिक्रमण र त्यसलाई बचाउन नेपालीहरूले चलाएको अभियानलाई देखाइएको छ । भुटानी शासकबाट लखेटिएका भुटानीहरूको कथा पनि यसमा छ ।
मित्र प्रधान (नर)को निर्देशनमा तयार भएको यो चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतको अभिनय छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रलाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गर्नुभएको हो । यसमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन छ ।
चलचित्रले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने जनाइएको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको यस चलचित्रमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सङ्गीत छ ।






