‘उपहार’लाई चार विधामा अवार्ड

चितवन,
असार १३ ।

लक्की मिडिया हाउसद्वारा आयोजित ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’मा चलचित्र उपहार ले चार विधामा अवार्ड हात पारेको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ का अनुसार उपहारले उत्कृष्ट चलचित्र, उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक तथा उत्कृष्ट सङ्गीतकार विधामा अवार्ड प्राप्त गरेको हो ।

उत्कृष्ट गायिकाको विधामा उपहार को ‘वा वा वा…’ बोलको गीतका लागि एलिना चौहान, उत्कृष्ट निर्देशकमा ज्ञानेन्द्र देउजा, र उत्कृष्ट सङ्गीतकारमा ‘कहिल बार बिर्सन्छु’ गीतका लागि अर्जुन पोखरेलले अवार्ड जित्नुभयो ।

त्यस्तै, चलचित्र ‘ऐँचो पैँचो’ बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार र कृषा चौलागाईं उत्कृष्ट नव-निर्देशक घोषित हुनुभएको छ । चलचित्र ‘पुजार सार्की’ बाट प्रदीप खड्का उत्कृष्ट अभिनेता तथा भरत रेग्मी उत्कृष्ट सम्पादक घोषित हुनुभयो ।

चलचित्र ‘बोक्सीको घर’बाट केकी अधिकारी उत्कृष्ट अभिनेत्री र ‘दिमाग खराब’ मा ‘माया’ गीतका लागि सुगम पोखरेल उत्कृष्ट गायक घोषित हुनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार मोहन निरौला, पत्रकार विजयरत्न तुलाधर र शान्तिप्रिय निर्णायक मण्डलमा रहनुभएको थियो ।

विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरू सम्मानित
सोही कार्यक्रममा समाजका विविध क्षेत्रबाट योगदान पुर्‍याउने नौजना व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा पत्रकार आनन्द पोखरेल, जनप्रतिनिधि विष्णुराज महतो (वडा नं. २२), सामाजिक अभियन्ता नारायणप्रसाद कँडेल, युवा उद्यमी सन्तलाल गुरुङ, शिक्षाविद् टेकबहादुर श्रेष्ठ, चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, कलाकार मौसमी मल्ल र सीता गुरुङ तथा खेलकुद तथा शिक्षातर्फ यज्ञविलास पौडेल (वाईबी) रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख चित्रसेन अधिकारी, अध्यक्ष इन्दिरा कार्की र वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले सम्मानपत्र तथा दोसल्ला प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले ‘राज्यले गर्नुपर्ने काम मिडियाले गरेको’ भन्दै लक्की मिडिया हाउसको प्रशंसा गर्नुभएको थियो । निर्देशक इन्दिरा कार्कीले स्रष्टा जीवनकालमै सम्मान पाउनुपर्छ भन्ने धारणा राख्दै कलाकारको प्रतिभा प्रवर्द्धनमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

लक्की मिडिया हाउसले नेपाली चलचित्रको प्रवर्द्धनमा रेड कार्पेट शो, प्रिमियर शो र विविध अभियानमार्फत योगदान दिँदै आएको छ। फिल्मी अवार्डलाई वार्षिक रूपमा निरन्तरता दिइने आयोजकले प्रतिबद्धता जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार