क्यानडामा नेपाली प्रतिभाको खोजीः मानभी फाउन्डेसनद्वारा ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ को घोषणा

टोरन्टो,
असार १२ ।

क्यानडामा रहेका नेपाली समुदायको सिर्जनात्मक प्रतिभा उजागर गर्ने उद्देश्यसहित मानभी फाउण्डेशनले ‘नेपाली क्रिएटर्स फेष्ट २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । यो महोत्सव विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी तथा युवा पुस्तालाई लक्षित गरिएको छ, जसले उनीहरूलाई आफ्नो कला र सीप प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने जनाइएको छ ।

मानभी स्टुडियोको सफल एक वर्षपश्चात् स्थापना गरिएको मानभी फाउण्डेशनले कार्यक्रम सहभागीका लागि निःशुल्क दर्ताको व्यवस्था गरेको छ । क्यानडामा नेपालीहरूको बढ्दो उपस्थिति र सांस्कृतिक चहलपहलबीच यस महोत्सवले नेपाली कला, संस्कृति र सिर्जनात्मकतालाई प्रवद्र्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

फेष्टअन्तर्गत नृत्य, गायन, फोटोग्राफी, भिडियो निर्माण, कविता लेखन, चित्रकला र संगीतलगायत विविध विधामा रुचि राख्ने नेपालीहरूले अनलाइनमार्फत सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको मूल्यांकन नेपाल, क्यानडा र अमेरिकाका ख्यातिप्राप्त निर्णायकहरूले भर्चुअल माध्यमबाट गर्नेछन्, जसले यस फेष्टलाई अन्तर्राष्ट्रिय मान्यता दिने विश्वास गरिएको छ ।

कार्यक्रमको ग्राण्ड फिनाले टोरन्टोमा प्रत्यक्ष रूपमा आयोजना गरिनेछ, जहाँ छानिएका उत्कृष्ट प्रतिभाहरूले बृहत् मञ्चमा आफ्नो प्रस्तुति दिने अवसर पाउनेछन् । मानभी फाउण्डेशनका सञ्चालक विधान कार्कीका अनुसार, ‘नेपाली क्रिएटर्स फेण्ट’ केवल प्रतिस्पर्धा मात्र नभई सांस्कृतिक एकता, प्रतिभाको प्रस्फुटन र नयाँ सम्बन्ध निर्माण गर्ने सुनौलो अवसर पनि हो ।

फाउण्डेशनले क्यानडामा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो कला प्रस्तुत गर्न तथा अन्य सिर्जनात्मक व्यक्तिसँग सहकार्य गर्न आहृवान गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार