काठमाडौं,
असार ११ ।
कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) को निबन्ध सङ्ग्रह ‘चैतन्यबोध’ लोकार्पण गरिएको छ । काठमाडौंमा भएको एक विशेष समारोहमा प्राडा. गोविन्दराज भट्टराईको प्रमुख अतिथ्यता र प्राडा. कुमारप्रसाद कोइराला, प्राडा. हेमचन्द्र नेपाल, प्राडा. लक्ष्मणप्रसाद गौतम र निबन्धकार मोमिलाले संयुक्त रुपमा उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
प्राडा. भट्टराईले पुस्तकमा पूर्वीय दर्शन र वेद–वेदाङ्गलाई सहज शैलीमा प्रस्तुत गरिएको चर्चा गर्दै यसलाई रसपूर्ण र पठनीय कृति रहेको भन्दै चर्चा गर्नुभयो । प्राडा. हेमचन्द्रले कृतिमाथि सहानुभूति व्यक्त गर्दै कृति दार्शनिक दृष्टिले सशक्त रहेको टिप्पणी गर्नुभयो । प्राडा. गौतमले यसको निबन्धहरूले आत्मचिन्तनलाई बल दिने धारणा राख्नुभएको थियो ।
निबन्धकार मोमिलालले मानसाग्नि’ले धेरै विधामा लेख्दा पनि, यस निबन्ध सङ्ग्रहले पाठकमाझ पुग्नपाउनु प्रेरणादायी रहेको प्रतिक्रिया दिनुभयो । प्राडा. कोइरालाले पूर्वीय दर्शन अध्ययन गर्नेहरूका लागि यो उत्कृष्ट स्रोत पुस्तक भएको जिकिर गर्नुभयो ।
‘मानसाग्नि’ले कविताबाहेक लेख्न नचाहेको बताउँदै, मोमिलालको प्रेरणाले नै ‘चैतन्यबोध’को सिर्जना सम्भव भएको बताउनुभयो । पेज टर्नर प्रा.लि. बाट प्रकाशित यो पुस्तकको मूल्य पाँच २५ रुपैयाँ राखिएको छ ।






