काठमाडौं,
असार ११ ।
आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शनमा आउने भएको छ । ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुंगा’ नेपालसँगै अमेरिका, अष्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुनेभएको हो । चलचित्र ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । सेभेन सिजले यो चलचित्र सो मितिमा देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउने निर्माण कम्पनीले जनाएको छ ।
डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलोपटक ‘कोशेढुंगा’ एकसाथ ४० देशमा आगामी भदौ १२ गते (अगस्ट १८ मा) एकसाथ ४० देशका हलहरूमा रिलिज गर्न लागिएको अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिनुभयो । नेपाली सिनेमाको डायस्पोरा इतिहासमा पहिलोपटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा नयाँ उचाइ दिने अपेक्षा वितरक ढकालको छ ।
‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । काठमाडौंमा पनि सेट लगाएर यो चलचित्रकोे छायांकन गरिएको छ । गाउँले सेटअपमा यो चलचित्रले मौलिक कथा पस्किने बताइएको छ । चलचित्रको केही समयअघि पोष्टरमा अभिनेत्री पन्तलाई प्रस्तुत गरिएको गाउँको पृष्ठभूमिमा पछ्यौरी ओढेको ग्रामीण महिलाको चरित्रमा फिचर्ड गरिएको फष्टलुक पोष्टर सार्वजनिक गरिएको थियो ।
नरदेवी फिल्मस्को प्रस्तुति रहेको योचलचित्रमा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुनुहुन्छ भने कार्यकारी निर्माता दिनेश खड्का रहनुभएको छ । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । चलचित्रको काष्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुनुहुन्छ ।






